काठमाडौँ, कात्तिक २६ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्सले दोस्रो सिजनका लागि नामिबियाका ब्याट्सम्यान जान निकोल लोफ्टी इटनलाई अनुबन्ध गरेको छ ।
इटन जनकपुरमा अनुबन्ध हुने चौथो विदेशी खेलाडी हुनुहुन्छ । जनकपुरले यसअघि श्रीलङ्कन मुलका अमेरिकन क्रिकेटर लाहिरु मिलान्था, दक्षिण अफ्रिकाका वायने पार्नेल र इम्रान ताहिरलाई अनुबन्ध गरिसकेको छ ।
इटनले ५१ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । उहाँले अघिल्लो सिजन चितवन राइनोजबाट एनपिएल खेल्नुभएको थियो । शिवनारायण चन्द्रपालको प्रशिक्षणमा रहेको जनकपुरको मार्की खेलाडीमा आसिफ शेख हनुहुन्छ ।
टोलीमा अनिलकुमार साह, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह र तुलबहादुर थापामगरले यसपटक पनि निरन्तरता पाउनुभएको छ । यस्तै अक्सनबाट मयन यादव, आदित्य महता, विकास अग्री र सचिन भट्टलाई अनुबन्ध हुनुभएको थियो ।
मङ्सिर १ गतेदेखि २७ गतेसम्म हुने एनपिएलमा जनकपुरसँगै साविक उपाविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।