• २९ वैशाख २०८३, मङ्गलबार

नेपालभाषा जर्नल सार्वजनिक

blog

तस्बिर : अमिर मैया रञ्जित

अमिर मैया रञ्जित

ललितपुर, कात्तिक २६ गते । नेपालभाषा केन्द्रीय विभाग पाटनढोका, ललितपुरले बुधबार ‘नेपालभाषा जर्नल' सार्वजनिक तथा विभिन्न पुरस्कार प्रदान गरेको छ ।

साहु पञ्चवीर सिंह तुलाधरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अनुसन्धानमूलक लेखरचनाहरुको सङ्ग्रह ‘नेपालभाषा जर्नल’ विशेष अतिथि भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर, केन्द्रीय विभागका प्रमुख डा. राजनलाल जोशी, निर्वतमान प्रमुख प्रा.डा. ओमकारेश्वर श्रेष्ठ र पाटन कलेजका प्रमुख डा. रघुवीर विष्टले सामूहिक रुपमा विमोचन गर्नुभएको हो ।

सोही अवसरमा केन्द्रीय विभाग र दाताबाट प्रदान गरिने विभिन्न त्रिविवि छात्रवृत्ति तथा पुरस्कार पनि वितरण गरिएको छ । नेपाल भाषा स्नातकोत्तर तहमा विभिन्न सेमेष्टरमा उत्कृष्ट अङ्क प्राप्त गर्ने अनुसन्धान शोधग्रन्थ तयार गर्ने विद्यार्थीहरुलाई प्रदान गरिने विभिन्न छात्रवृत्ति तथा पुरस्कारहरु ‘त्रिविवि छात्रवृत्ति’, ‘योगवीर सिंह अनुसन्धान सिरपाः’, ‘सत्यहेरा अनुसन्धान सिरपाः’, ‘पुष्पदेवी छात्रवृत्ति’, ‘कृष्णदेवी खयरगुली छात्रवृत्ति’, र ‘श्रेष्ठ पदक’ प्राप्त गर्ने विद्यार्थीहरुलाई पदकका साथै सम्मानपत्र र नगद पुरस्कार दाता र प्रमुख अतिथि तुलाधरले प्रदान गर्नुभयो ।

नेपाल सरकारको लागि आवश्यक योग्य र दक्ष जनशक्ति नेपालभाषा केन्द्रीय विभागले उत्पादन गर्न आवश्यक रहेको विशेष अतिथि मानन्धरले बताउनुभयो ।