सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) कात्तिक २६ गते । धनकुटाको शहीदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा बसोवास गर्दै आएका किराँत राई जातिको पापानी चाड सुरु भएको छ । किराती राईहरुले नयाँ बाली भित्र्याएको आफ्नो खुशीयालीमा मनाउने पापानी चाड सुरु भएको हाे ।
कात्तिक शुक्ल पूर्णिमा पछिको पहिलो मङ्गलबार शहीदभूमि गाउँपालिका–३, को साकेन्वा थानमा जम्मा भएर पूजा गरेपछि पापानी चाड सुरु हुने गर्दछ । पापानी चाडमा नयाँ बाली भित्र्याएको खुशीयालीमा ढोल नाच साथै बाजागाजासहित रमाइलो गर्दै इष्टदेवताको पूजाआराधना गरी मनाउने गर्दछन् ।
पापानी चाड ६ दिन ६ रातसम्म एकआपसमा खुशीयाली साटासाट गरेर मनाउने गरेको स्थानीय नरेन्द्र कश्चित राईले बताउनुभयो । पापानी पर्वमा किराँत राईहरूले कुलदेवताको पूजाआराधना गर्नुका साथै ढोल, झ्याम्टा बजाउँदै लहरै कुम जोडेर नाचगान गर्ने गर्दछन् । पापानी नाच नाच्दा सबै जना एकआपसमा गोलो घेरा हालेर खुट्टा तीन कदम अगाडि र पछाडि सार्दै नाच्ने गरिन्छ ।
पापानी चाडको पहिलो दिन मङ्गलबार गाउँभरिका गढी घरहरु भएका ढोलहरु मुल पुजारीको घरमा भेला भएर पूजा गरेर पापानी सुरु हुने गर्दछ । बुधबार आ–आफ्नो घरघरमा देवीदेउता भित्र्याएर पूजा गर्ने गरिन्छ । देवता भित्र्याइसकेपछि हरेक घरमा माङ्ला अर्थात् जोखाना हेर्ने गरिन्छ । आइतबार इष्ट देवता फुढाहाङ (बुढाहाङ) को प्रतिकको रुपमा ङाङसुबाथिङको घर हुँदै गढी घर, पाथ्थरे, मझियाँको गढी घरमा पूजा गर्ने चलन रहिआएको छ ।
पापानी चाड पहिले पामाआनी शब्दबाट अपभ्रंस भएर बनेको जनविश्वास छ । राई भाषामा पा भनेको छोरा मान्छे, मा भनेको छोरी मान्छे हो । पामाआनी भनेको छोरा मान्छे र छोरी मान्छे गोलोघेरा भएर ढोल झ्याप्टा बजाउँदै नाच्नु रहेको बताइएको छ । यसले किराती राईहरुको आफ्नो कला, संस्कृति, भेषभूषा, रहनसहन र रीतिथितिसमेत बोकेको छ ।