• १३ साउन २०८१, आइतबार

बाँकेमा कोरोनाविरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाइँदै

blog

फाइल तस्बिर

नेपालगञ्ज, असार २० गते । स्वास्थ्य कार्यालय बाँकेले आठ पालिकाका ८१ वडामा आजदेखि कोरोनाविरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाउने भएको छ । विशेषगरी १८ वर्षमाथिका नागरिकलाई लक्षित गरी दुई दिनसम्म नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा खोप लगाउन लागिएको छ । 

असार २४ देखि २६ गतेसम्म बैजनाथ, डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा खोप लगाउने तयारी गरिएको छ । अहिलेसम्म बाँकेमा शतप्रतिशतले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा हालसम्म चार लाख ८१ हजार ८३३ ले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका हुन् । यो लक्ष्यभन्दा एक दशमलव २ प्रतिशतले बढी हो । बाहिरी जिल्लाबाट आएका व्यक्तिले खोप लगाएका कारण लक्ष्यभन्दा बढीले जिल्लामा खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

दोस्रो डोज खोप लगाउनेको सङ्ख्या तीन लाख ८५ हजार ८९२ छ । खोपको मात्रा पूरा गर्ने अर्थात् दोस्रो डोज लगाउने ८१ दशमलव १ प्रतिशत छन् । बुष्टर डोज लगाउनेको सङ्ख्या भने जिल्लामा निकै कम छ । बुष्टर डोज लगाउनेको सङ्ख्या एक लाख सात हजार ३०६ रहेको छ । प्रतिशतका हिसाबले यो २२ दशमलव ५ प्रतिशत हो ।

नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकामा शतप्रतिशतले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् ।

सबैभन्दा कम खोप लगाउनेमा नरैनापुर र जानकी गाउँपालिका छन् । ती पालिकामा पहिलो डोज खोप लगाउने ८० प्रतिशतको हाराहारीमा छन् । बैजनाथ, राप्तीसोनारी र डुडुवा गाउँपालिकामा ९० प्रतिशत बढीले कोरोनाविरुद्धको पहिलो खोप लगाउँदै छन् । केही दिनयता फेरि बाँकेमा कोरोना सङ्क्रमित बढ्दै जान थालेका छन् ।