नवलपुर समाचारदाता
कावासोती, कात्तिक १७ गते । पूर्वी नवलपरासीको नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति प्राप्त भएको छ । अनुमति पाएसँगै पर्यटन व्यवसाय फस्टाउनुका साथै पर्यटन प्रवर्धन हुने विश्वासमा यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले नवलपुर पर्यटन समितिलाई आर्थिक वर्ष २०८२/८३ का लागि जिप सफारी सञ्चालन गर्न अनुमति दिएको निकुञ्जका सूचना अधिकारी आशिष थापामगरले बताउनुभयो ।
उक्त अनुमतिले पर्यटकीय गतिविधि थप बढ्ने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताउनुभयो । निकुञ्ज र नवलपुर पर्यटन समितिबिच नवलपुरको मार्ग हुँदै निकुञ्जमा जिप सफारीको सम्झौता भएको जनाउँदै उहाँले उक्त सहमति अनुसार आधा दिन र पूरै दिन जिपबाट निकुञ्ज क्षेत्र भ्रमण गर्न सकिने जानकारी दिनुभयो ।
आधा दिनको निकुञ्जभित्रको सफारीमा नवलपुरको अमलटारीघाट हुँदै टेम्पल टाइगर, मुन्डाताल, देवीताल हुँदै सोही बाटो फर्कने तथा अमलटारीघाट, मुन्डाताल, टाइगर टप्स हुँदै फर्कने मार्ग तोकिएको समितिका अध्यक्ष महतोले जानकारी दिनुभयो । उहाँका अनुसार पूरै दिनको भ्रमण मार्ग घडियाल प्रजनन केन्द्र पुग्नेका लागि मात्र प्रदान गरिएको छ । जस अन्तर्गत घडियाल प्रजनन केन्द्र हुँदै प्रमुख वनमार्ग भएर अमलटारी फर्किने अनुमति प्राप्त भएको महतोले बताउनुभयो । नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारीका लागि सात वटा सवारीसाधनलाई अनुमति दिइएको जनाउँदै उहाँले समितिले प्रयोग गर्ने सवारीसाधनको विवरणसमेत निकुञ्जले स्वीकृत गरेको उल्लेख गर्नुभयो ।
निकुञ्जको निर्देशन अनुसार सवारीमा जिपिएस शीघ्र जडान गरिने बताउँदै उहाँले निकुञ्जसँगको सम्झौतामा आगामी मङ्सिर १५ गतेभित्र सवारीमा जिपिएस जडान गर्ने समयसीमा तोकिएको जानकारी दिनुभयो । नवलपुर पर्यटन समितिमार्फत नवलपुरको मार्ग हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी गर्न चाहने पर्यटकलाई अमलटारीघाटस्थित नारायणी नदीमा डुङ्गाबाट तारेर निकुञ्ज क्षेत्रमा जिप सफारी गराइने छ ।
समितिले स्वीकृत प्राप्त सवारी भने नदीपारि निकुञ्जमै राख्ने छ । नवलपुरबाट निकुञ्जमा जिप सफारी गर्ने पर्यटकले नारायणीमा बोटिङको आनन्दसमेत लिन पाउने छन् । नवलपुरबाट निकुञ्ज क्षेत्रमा जिप सफारीको अनुमतिले यहाँको पर्यटनमा थप चहलपहल बढ्ने पर्यटन व्यवसायी धनिराम गुरौले बताउनुभयो ।