• १६ कात्तिक २०८२, आइतबार

हेटौँडा-काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक सञ्चालन

blog

फाइल तस्बिर ।

बागमती, कात्तिक १६ गते । सडकमा माथिबाट खसेका ठूला ढुङ्गा पन्छाएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकमा यातायात सञ्चालन भएको छ । 

अविरल वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सडकमा माथिबाट ठूला ढुङ्गाहरु खस्दा आज बिहान ६ बजेदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । सडकमा खसेको ठूला ढुङ्गासहितको पहिरो पन्छाएपछि अहिले सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । 

यस्तै, हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अझै सञ्चालन हुन सकेको छैन । 

अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा पहिरो खस्दा शनिबार साँझदेखि सो सडक अवरुद्ध भएको थियो । प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार सडक अवरुद्ध भएपछि काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट काठमाडौँ जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । 

पहिरो पन्छाउने काम भइरहे पनि निरन्तर वर्षाका कारण माटो भिजेको र ढुङ्गामाटो झर्ने क्रम जारी रहेकाले बाटो खुलाउन समस्या भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो । रासस