• १३ कात्तिक २०८२, बिहिबार

लुदीदामगाडे सामुदायिक वनमा रिचार्ज पोखरी

blog

गोरखा नगरपालिका–८ को लुदीदामगाडे सामुदायिक वनमा निर्माण गरिएको रिचार्ज पोखरी । तस्बिर : ध्रुव घिमिरे

गुणबहादुर रोका 

सुलीकोट, कात्तिक १३ गते । गोरखा नगरपालिका–८ को लुदीदामगाडे सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण गरिएको छ । जलवायु परिवर्तनका कारण पानीको मुहान सुक्न थालेपछि सामुदायिक वनको आफ्नो लगानीमा गोरखा नगरपालिका–८ को सामुदायिक वनमा पर्यावरणीय सन्तुलन कायम राख्न रिचार्ज पोखरी निर्माण गरिएको हो । 

जिल्लामा जलवायु परिबवर्तनले जताततै मूल सुक्दै गएको छ, सामुदायिक वनका अध्यक्ष हरिभक्त कट्टेलले भन्नुभयो, ‘सामुदायिक वनमा रिचार्ज पोखरी निर्माणले जलवायु अनुकूल खेती, मुख्य बीउ जोगाउँदै वातावरण संरक्षण गर्न पोखरी मुनिरहेका स्थानमा बिभिन्न किसिमका बोटबिरुवा लगाउनुका साथै जङ्गली जनावरहरु गाउँसम्म पानी खान नआइपुगोस् भन्ने उदेश्यले पोखरी निर्माण गरिएको हो।’

सामुदायिक वनको नीति अनुसार गाउँमै सम्भावना र समाधान खोज्दै वनजङ्गलमा पानी पुनर्भरण पोखरी निर्माण गरेर गोरखा नगरपालिका–८ का अधिकांश बाँझो जमिनमा धान खेती, आँप लिची, मेवा खेती गरिने बताइएको छ । 

सामुदायिक बनको खाली जग्गामा कागती, अमिलो, टिमुर, काफल तेजपत्ता र  बाँसलगायतका दशौं हजार बिरुवा रोप्ने तयारी भइरहेको सामुदायिक वनका अध्यक्ष कट्टेलले बताउनुभयो । रिचार्ज पोखरीले पानीको मुहान संरक्षण हुनुका साथै मुहानमा पानीको मात्र बढ्नेमा आफूहरु विश्वस्त भएको उहाँको भनाइ छ । 

सामुदायिक वनको २ लाख रुपियाँमा रिचार्ज पोखरी निर्माण गरिएको छ, अध्यक्ष कट्टेलले भन्नुभयो, ‘गोरखा नगरपालिकाले मुहानदेखि पोखरीसम्म पानी ल्याउनको लागि निःशुल्क पाइप दिएर सहयोग गरेको छ भने अन्य रकम सामुदायिक वनका उपभोक्तहरुको सहयोगमा श्रमदान भएको छ।’

अहिले जङ्गलमा भएका जनाबरहरु पानीको मुहान सुक्दै जाँदा गाउँगाउँमा वन्युजन्तुहरु पानी खानाको गएकाले जङ्गलको बीचमा रिचार्ज पोखरी निर्माण गर्दा वन्यजन्तुले प्रशस्त पानी पिउन पाउँछन् जसले गर्दा पानीको मुहान संरक्षण हुनुका साथै जङ्गलको पनि संरक्षण हुने भएकाले रिचार्ज पोखरी निर्माण गरिएको बताइएको छ ।