अमरराज नहर्की
तनहुँ, कात्तिक १३ गते । झण्डै दुई महिनासम्म रोकिएको राहदानी सेवा अब पुनः सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडका कारण बन्द भएको राहदानी सेवा बिहीबार देखि पुनः सुचारु गरेको हो ।
कार्यालयका भवन र उपकरणमा आगलागीपछि सम्पूर्ण प्रशासनिक कार्य रोकिएको थियो । प्रशासकीय अधिककृत विकास श्रेष्ठका अनुसार पहिलेका राहदानी छापिएका पासपोर्ट वितरण भइरहेका थिए, तर नयाँ विवरण दर्ताको काम अहिलेबाट मात्र सुरु भएको हो । हाल दैनिक ४० जनालाई राहदानी सेवाका लागि कोटा निर्धारण गरिएको छ । यसअघि दुईवटा स्टेसनमार्फत दैनिक ८० जनासम्म सेवा दिइँदै आएकोमा अहिले एक स्टेसनबाट मात्र सेवा पुनः सुरु भएको उहाँले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार राहदानी विभागले एक स्टेशन सञ्चालन गर्न उपकरण पठाएकोले हाल एक स्टेशनबाट सुरु गरिएको र चाँडै नै दुई स्टेशनबाट सेवा सूचारु गरिने भएको छ ।
राहदानीसँगै साविकका सबै प्रशासनिक सेवा पनि सुचारु भएका छन्। असोज २६ गतेदेखि नै राष्ट्रिय परिचयपत्र दर्ता र राहदानी वितरणको काम सुरु गरिएको थियो । सेवाग्राहीको भीड अत्यधिक बढेपछि कार्यालयले सेवा समय पनि विस्तार गरेको छ । अब बिहान ८ बजेबाट साँझ ६ बजेसम्म सेवा सञ्चालन हुनेछ । यसअघि कार्यालय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र खुल्ने गरेको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीका अनुसार भीड नियन्त्रणका लागि सेवा समय तीन घण्टासम्म बढाइएको हो । उहाँले भन्नुभयो, “कार्यालय जलेर ध्वस्त हुँदा लामो समय सेवा रोकिँदा माग बढेको थियो, त्यसलाई सहज बनाउन बिहान दुई घण्टा र साँझ एक घण्टा थप गरिएको हो ।”
पहिले पाँच युनिटमा सञ्चालन भएको राष्ट्रिय परिचयपत्र दर्ता सेवा अहिले दुई युनिटमा सीमित भएकाले भीड अझ बढेको रेग्मीले बताउनुभयो । नेपाल सरकारले आवश्यक उपकरण पठाएपछि सेवा पुनः सञ्चालन सम्भव भएको हो । त्यस्तै, तनहुँ उद्योग वाणिज्य सङ्घको सहयोगमा जलेका दुई कोठाको मर्मतसम्भार पूरा भएपछि कार्यालय सञ्चालनमा सहजता आएको रेग्मीले बताउनुभयो ।