प्रवीण कुमार शर्मा
रौतहट, कात्तिक १३ गते । रौतहटका १८ मध्ये १२ वटा स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ १२ गते निमित्तका भरमा चल्दै आएका रौतहटका १६ वटा स्थानिय तहमा एकै पटक दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो ।
१६ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहमा मात्र हालसम्म प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । हाजिर नभएका १३ वटा स्थानीय तहको हकमा असोज ८ गते मन्त्रालयले प्रथम त्रैमासिकका लागि साविकको निमित प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी प्रदान गरेको थियो ।
राजदेवी नगरपालिकामा असोज ३१ गते पुनः एक महिनाका लागि मन्त्रालयले निमित प्रमुख प्रशासकीय अधिकृत खटाएर बिबादमा तानिए पछि अब निमित प्रमुख प्रशासकीय अधिकृतलाई निरन्तरता नदिने निष्कर्षमा मन्त्रालय पुगेको छ ।
राजदेवी नगरपालिकामा समेत एक/दुई दिनमै उपसचिव खटाइने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले जानकारी दिनुभयो ।
मन्त्रालयका सचिव पन्थले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुने बताउनुभएको छ ।
रौतहटका १८ मध्ये १२ वटा स्थानिय तह कात्तिक १ गतेदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको सम्बन्धमा कुरा गर्नु हुँदै सचिव पन्थले खटाइएका दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत नै हाजिर हुने बताउनुभयो ।
तत्कालका लागि कुनै पनि स्थानीय तहमा साविकको निमितलाई निरन्तरता नदिने उहाँले प्रष्ट पार्नु भयो । निमित प्रमुख प्रशासकीय अधिकृत हुँदा पालिकाको काम कारबाही चुस्त दुरुस्त हुन नसकेकोले कुनै पनि बहानामा अब निमित नखटाइने उहाँले बताउनुभयो ।
रौतहटको गौर नगरपालिका, इशनाथ नगरपालिका, राजपुर नगरपालिका, परोहा नगरपालिका, देवाही गोनाही नगरपालिका, बौधीमाइ नगरपालिका, मौलापुर नगरपालिका, फतुवा विजयपुर नगरपालिका, गुजरा नगरपालिका, वृन्दावन नगरपालिका, गढिमाइ नगरपालिका र माधवनारायण नगरपालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन नआउँदा सेवा प्रवाहमा प्रत्यक्ष असर परि रहेको छ ।
यसैबीच नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालले गएको आइतबार अर्थ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर प्रसाद खनाललाइ भेटेर निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउने सङ्घीय सरकारको अघिल्लो निर्णय स्वागत योग्य रहेको बताएको छ, तर खटाइएका कर्मचारी कार्यस्थलमा नपुगेकाले निर्णय कार्यान्वयनमा कडाइ गर्न र अनुभवि/वरिष्ठ जनशक्ति खटाउन ध्यानाकर्षण गराएको छ ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाइएको दुई महिना बितिसक्दा समेत हालसम्म पालिकामा हाजिर नहुँदा सेवा प्रवाहमा असर पर्नुको साथै दसैँ, तिहार, छठमा समेत कतिपय स्थानीय तहका कर्मचारी, शिक्षकले तलब, भत्ता खान नपाएको गुनासो गर्नुभयो ।