काठमाडौँ, कात्तिक १२ गते । आइसिसी विश्वकप लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त अरव इमिरेट्स (युएई) लाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मङ्गलबार राति भएको खेलमा अमेरिकाले युएईलाई चार वकेटले हरायो । यसअघि शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको सहज जित निकालेको थियो ।
नेपालले यस शृङ्खलाको दोस्रो खेल बिहीबार युएईसँग खेल्नेछ । अमेरिकासँगको पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपाललाई घरेलु टोली युएई पन्छाउन थप मेहनत गर्नुपर्नेछ ।
नेपालले युएईपछि शृङ्खलाको अर्को खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार युएईसँग खेल्नेछ । आठ टोली सहभागि लिगमा हाल अमेरिका २२ खेलबाट ३२ अङ्क जोड्दै शीर्षस्थानमा छ । पराजित युएई १७ खेलबाट ६ अङ्कसहित आठौँ तथा अन्तिममा छ ।
१७ खेल सकेको नेपाल १२ अङ्ककासाथ सातौँ स्थानमा छ । दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २४ खेलबाट ३० अङ्क छ । यस्तै तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको २४ खेलबाट २८, चौथो स्थानमा रहेको ओमानको २० खेलबाट २४, पाँचौँ स्थानमा रहेको क्यानडाको २४ खेलबाट २१ र छैटौँ स्थानमा रहेको नामिबियाको २४ खेलबाट १९ अङ्क छ ।
लिग–२ मा सहभागी आठ राष्ट्रले कुल नौ शृङ्खलामा कूल ३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन शृङ्खला खेल्नेछन् भने ६ शृङ्खला अन्य राष्ट्रका मैदानमा खेल्नेछन् । प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।