• ४ जेठ २०८१, शुक्रबार

भारतीय तेल मिसाएर खाने तेल उत्पादन

blog

सांकेतिक तस्बिर

बारा, असार १९ गते । कलैयामा रहेको खाने तेल उद्योगले भारतीय ब्रान्डका तेल मिसावट गरेर बेच्ने गरेको पाइएको छ । 

कलैया उपमहानगरपालिका–१, बजार टोलमा सञ्चालित केशरी तेल उद्योगले भारतीय ब्रान्डको खाने तेल मिसावट गरिरहेको हो । सो उद्योगका सञ्चालक ध्रुवप्रसाद केशरीले भारतीय रानी ब्रान्डको तेलमा झाँस (तेलबाट आउने कडा गन्ध, राग) बढी भएकाले आफ्नो उद्योगबाट उत्पादित खाने तेलमा मिसाएर बेच्ने गरेको स्वीकार गर्नुभयो । 

“मेरो उद्योगबाट उत्पादन हुने खाने तेलमा झाँस हुँदैन । यहाँको तोरी पेल्दा पनि झाँस आउँदैन । त्यसैले तेलमा झाँस आओस् भनेर तोरीमा भारतमा उत्पादित रानी तेल मिसाएर पेल्ने गरेको छु,” उहाँले भन्नुभयो । एक बोरा तोरीमा चार-पाँच प्याकेट रानी तेल मिसाएर पेल्ने गरेको र त्यही उत्पादन बजारमा पठाउने गरेको सञ्चालक केशरीले स्वीकार गर्नुभयो । 

यो उद्योगले गुगल ब्रान्डको तोरी तेल उत्पादन र बिक्री वितरण गर्दै आएको छ । दैनिक ५०–६० लिटर खाने तेल स्थानीय उपभोक्तालाई बिक्री गरिहेको केशरीले जानकारी दिनुभयो । गुगल ब्रान्डको खाने तेलको गुणस्तर जाँच भए वा नभएकोबारे उहाँले स्पष्ट पार्नुभएन । कलैया बजारमा आधा दर्जन घरेलु उद्योगले भारतीय तेल मिसाएर उत्पादन गरेको तेल बेच्ने गरेका छन् तर ती उद्योगका उत्पादनको गुणस्तरबारे गुणस्तर मापन गर्ने निकाय नै गम्भीर बन्न सकेका छैनन् । 

Author

शिवशङ्कर मिश्र