• ४ जेठ २०८१, शुक्रबार

निगमको महत्त्वपूर्ण योजना अलपत्र

blog

काठमाडौँ, असार १९ गते । विगत दुई वर्षदेखि पेट्रोलियम पदार्थको निरन्तरको मूल्य वृद्धिले घाटा बढाएपछि नेपाल आयल निगमले भण्डारण निर्माणलगायतका योजना अगाडि बढाउन सकेको छैन । 

निगमले ठूला आयोजनाका रूपमा घोषणा गरेका सबै प्रदेशमा भण्डारणका लागि भौतिक पूर्वाधार, पाइप लाइन निर्माण र विस्तारका काम स्थगितजस्तै भएका छन् ।  निगमका सञ्चित कोषहरू अहिले रित्तिएका छन् । आर्थिक सङ्कट, कानुनी प्रक्रिया र नेपाल–भारतबीच समन्वयमा काम गर्नुपर्ने भएकाले ढिलाइ भइरहेको निगमले जनाएको छ तर यी काम हाल सामान्य हिसाबले अघि बढिरहेको निगमको दाबी छ । 

निगमका प्रवक्ता विनीतमणि उपाध्यायले निगमको आर्थिक सङ्कट, नीति र निर्णय प्रक्रियाका कारण चाहे जसरी काम अगाडि बढ्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुख्य कारण आर्थिक सङ्कट नै हो, त्यसपछि नीतिगत निर्णय पनि हुन बाँकी नै छ ।” 

पाइप लाइन निर्माणमा ढिलाइ  

अमलेखगञ्जबाट चितवनको लोथरसम्म पाइप लाइन विस्तारको अध्ययन प्रतिवेदन तयार छ । यसका लागि जीटुजी मोडेलमा सम्झौता गर्न मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले भन्नुभयो, “अमलेखगञ्जदेखि चितवन पाइप लाइन विस्तार गर्न जीटुजी मोडेलमा सरकारले एमओयू गर्न सैद्धान्तिक सहमति दिएको छ ।” 

काँकडभिट्टा (झापा)–सिलगुढी पाइप लाइनको प्राविधिक प्रतिवेदन तयार भई निगमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको छ । पाइप लाइनको काम नेपाल र भारतबीचको सहकार्य र समन्वयमा हुने भएकाले एकतर्फी प्रयासले मात्रै सहज नहुने निगमले जनाएको छ । झापा–सिलगुढी पाइप लाइनका बारेमा पनि मन्त्रालयस्तरमा छलफल भइरहेको केसीको भनाइ छ । 

अलमलमा भण्डारण निर्माण 

सातै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण निर्माण गर्न पाँच वर्षअघि जग्गा खरिद भइसकेको छ तर निर्माण कार्य अगाडि बढेको छैन । प्रवक्ता उपाध्यायले भन्नुभयो, “भण्डारण वृद्धि गर्ने काम अलमलमा पर्यो । ती कामलाई निगमले प्राथमिकतामै राखेको छ ।”  

आगामी १५ वर्षको पेट्रोलियम पदार्थको माग र खपतको प्रक्षेपण गर्दै कम्तीमा ९० दिनलाई पर्याप्त हुनेगरी भण्डारण निर्माण गर्ने भनिएको थियो । त्यसका लागि सर्लाही, झापा, चितवन र भैरहवामा जग्गा खरिद गरिसकिएको छ । बाँकी प्रदेशमा अझै जग्गा प्राप्तिका लागि काम हुन सकेको छैन । 

निगमले गण्डकी प्रदेशको पोखरामा पेट्रोलियम पदार्थको भण्डारण निर्माण भने अन्तिम चरणमा पुर्याएको छ । गगनगौँडास्थित निगमको प्रादेशिक डिपोमा पाँच हजार किलोलिटर (केएल) क्षमताको दुईवटा भर्टिकल ट्याङ्की निर्माण भइरहेका छन् । गण्डकी प्रदेशमा हाल दुई हजार २८० केएल डिजेल र ३५० केएल पेट्रोल भण्डारण हुने गरेको छ । 

कर्णाली प्रदेशको सुर्खेतमा हवाई डिपोलाई विमानस्थलभित्रै सार्ने र हाल भएको डिपोमा डिजेल, पेट्रोल भण्डारण गर्ने कामको अध्ययन अगाडि बढाएको छ । निगमका अनुसार नेपालमा हाल ६८ हजार किलोलिटर पेट्रोलियम पदार्थको भण्डारण छ, जुन एक साताका लागि पुग्ने बताइएको छ ।

Author

लक्ष्मण दर्नाल