सर्लाही समाचारदाता
सर्लाही, कात्तिक ९ गते । सूर्यको आराधना गरी श्रद्धा र भक्तिपूर्वक मनाइने छठपर्व शनिबार विधिवत् रूपमा सुरु भएको छ ।
मधेशमा अहिले चार दिनसम्म मनाइने छठपर्वको रौनक छ । गाउँबस्तीमा मानिसको चहलपहल बढेको छ भने जताततै छठका गीत गुन्जिएका छन् । छठपर्वमा बाँसको ढाकी, डगरी, माटोको कोसिया–कुरबार, हात्ती आदिसहितका सामग्री अर्पण गरिन्छ । त्यस्तै ठेकुवा, भुसुवा, केरा, उखु, अदुवा, हल्दी, हरिया तरकारी, मिठाई तथा विभिन्न फलफूल प्रसादका रूपमा सूर्यदेवलाई अर्घ अर्पण गरिन्छ ।
छठलाई निष्ठा र कठोर साधनाको पर्व मानिन्छ । अघ्र्य दिने व्रतालुले ४८ घण्टासम्म अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर चढाइएको सामग्री प्रसादका रूपमा ग्रहण र वितरण गरिने भएकाले यो पर्व सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा पनि लिइन्छ ।
तराई–मधेशका बजारहरूमा अहिले पूजा सामग्री किनमेलको चहलपहल छ भने नदी, पोखरी र जलाशयका घाटहरू आकर्षक रूपमा सजाइँदै छन् । छठपर्वको अवसरमा सङ्घीय सरकारले सोमबार देशभर सार्वजनिक बिदा दिएको छ भने मधेश प्रदेश सरकारले मङ्गलबार थप एक दिन बिदा दिने निर्णय गरेको छ ।