- शनिबार मात्रै १० हजार भित्रिए
- होटेल बुकिङ गरेर मात्र आउन व्यवसायीको आग्रह
हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), कात्तिक ९ गते । तिहारपछि घुमघाममा निस्किएका स्वदेशी पर्यटकका कारण यतिबेला मुस्ताङका होटेल खचाखच भरिएका छन् । भाइटीकाको भोलिपल्ट घुम्न निस्किएकाको पहिलो रोजाइमा मुस्ताङ परेपछि पोखरा–बेनी–जोमसोम हुँदै कोरला सडकखण्डका साना तथा ठुला होटेलमा थामिनसक्नु भिड छ ।
आन्तरिक पर्यटकको चापका कारण मुस्ताङका पाँच वटै गाउँपालिकामा रहेका होटेल तथा रिसोर्ट भरिभराउ भएको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचनले बताउनुभयो । “चाडपर्वको लामो बिदा मनाउन एकै पटक पर्यटक भित्रिँदा होटेल खचाखच छन्,” उहाँले भन्नुभयो ।
जेनजी आन्दोलनका कारण विदेशी पर्यटक बुकिङ रद्द गरेको अवस्थामा निराश मुस्ताङका पर्यटन व्यवसायीलाई स्वदेशी पर्यटकको ताँतीले उत्साहित बनाएको अध्यक्ष लालचनको भनाइ छ ।
शनिबार मात्रै करिब १० हजार पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालय घाँसा चेकपोस्टको तथ्याङ्क छ । मुस्ताङको लेतेदेखि माथि ल्होमान्थाङसम्म करिब तीन सय सानाठुला होटेल सञ्चालनमा छन् ।
यो सिजनमा विदेशी पर्यटकको समेत आगमन हुने हुँदा अग्रिम बुकिङबाहेक सम्भव भएसम्म स्वदेशी पर्यटकलाई समेत बासको व्यवस्थापन गरेको होटेल व्यवसायी सुरज तुलाचनले बताउनुभयो । “हामीले अनुमान गरेभन्दा धेरै पर्यटक भित्रिएपछि व्यवस्थापनमा समस्या भएको हो,” उहाँले भन्नुभयो । नेपालीको घुम्ने संस्कृति ह्वात्तै बढे पनि पूर्वतयारीमा ध्यान नदिँदा सिजनमा मुस्ताङ भित्रिने स्वदेशी पर्यटकलाई समस्या हुने गरेको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले एकै पटक धेरै पर्यटक भित्रिँदा व्यवस्थापनमा समस्या भएको बताउनुभयो । “होटेल बुकिङ नगरी घुम्न आउने पर्यटकलाई समस्या भएको छ, मुस्ताङमा आउँदा होटेलसहित पूर्वतयारीका साथ आउनुहोला,” उहाँले भन्नुभयो ।
पर्यटकको चाप अत्यधिक रहेकाले होटेल नपाउने समस्याका कारण गलत सन्देश प्रवाह हुन नदिन तथा पर्यटकलाई समेत सहज हुने गरी घाँसा प्रहरीले पर्यटकलाई समन्वय गरिरहेको छ । प्रहरीको मोबाइलसहितका अन्य गस्ती पर्यटकीय स्थल परिचालन गरिएको छ ।
मुस्ताङ भित्रिने अधिकांश स्वदेशी पर्यटक प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा पुग्ने गरेका छन् । प्राचीन गुफा, बस्तीभन्दा टाढा रहेका मानव निर्मित गुफा, गुम्बा, उजाड पहाड, मुस्ताङीको कला र संस्कृति, हावापानी र आकर्षक पर्यटकीय गन्तव्य मुस्ताङका प्रमुख आकर्षण हुन् ।
पछिल्लो समय बेनी–जोमसोम–कोरला सडक कालोपत्रे भएपछि दुईपाङ्ग्रे सवारीसाधनमा जाने पर्यटक बढेका छन् । छठलगत्तै मुस्ताङमा आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै घट्छ ।
सुस्ताएको सौराहामा चहलपहल सुरु
वसन्त पराजुली
नारायणगढ, कात्तिक ९ गते । चर्चित पर्यटकीय गन्तव्य सौराहाको पर्यटकीय गतिविधिमा बिस्तारै सुधार आउन थालेको छ । पर्यटक आगमनको मुख्य सिजनमै आन्दोलन तथा वर्षाका कारण सुस्ताएको सौराहामा तिहारयता चहलपहल बढ्न थालेको हो । नेपाल घुम्न आउने विदेशी पर्यटकको रोजाइको गन्तव्यमा पर्ने सौराहामा यतिबेला आन्तरिक पर्यटकको आगमन पनि बढ्दो क्रममा छ ।
क्षेत्रीय होटेल सङ्घ सौराहाका पूर्वअध्यक्षसमेत रहनुभएका पर्यटन व्यवसायी सुमन घिमिरेले अहिले सौराहामा पर्यटकको आगमन बढेको जानकारी दिनुभयो । “अहिले आन्तरिक पर्यटकको भिडभाड छ । बिस्तारै विदेशी पर्यटकको सङ्ख्या पनि बढ्न थालेको छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार अहिले सौराहामा ८० प्रतिशतभन्दा बढी होटेलका कोठा भरिभराउ छन् ।

सौराहाको गैँडाचोकमा पर्यटकको चहलपहल । तस्बिर : वसन्त पराजुली
देशकै मध्यभागमा रहेको चितवनको पर्यटकीय नगरी सौराहामा ११६ होटेल छन् । जसमा पाँच हजारभन्दा बढी बेड रहेका छन् ।
क्षेत्रीय होटेल सङ्घ सौराहाका अध्यक्ष ओम पाण्डेका अनुसार दसैँमा आउन नसकेका पर्यटक तिहार आसपासमा आउँदा चहलपहल बढेको छ । “नेपाली मात्रै हैन विदेशी पर्यटक पनि बढेका छन्,” उहाँले भन्नुभयो ।
असोजलाई सौराहाको पर्यटन सिजन मानिन्छ जुन् फागुनसम्म कायम रहन्छ । सौराहासँगै चितवनमा पटिहानी, मेघौली र माडी पनि पर्यटकीय क्षेत्रका रूपमा विकसित भइरहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको प्रवेशद्वारसमेत सौराहा नै मानिन्छ । निकुञ्ज कार्यालयका अनुसार गत आवमा दुई लाख ३२ हजार पर्यटकले निकुञ्ज घुमेकोमा ८० प्रतिशतभन्दा बढी सौराहा क्षेत्रबाटै प्रवेश गरेका हुन् ।