• ९ कात्तिक २०८२, आइतबार

पुन : डन्डी उत्पादन गर्दै आरती

blog

शशिधर पराजुली 

विराटनगर, कात्तिक ९ गते । मोरङको बुढीगङ्गामा रहेको आरती स्ट्रिप्सले तीन वर्षअघि बन्द गरेको फलामे डन्डी (टिएमटी) को पुनः उत्पादन थाल्ने भएको छ । 

भारतीय लगानीमा सञ्चालित आरतीले सन् २०२६ को सुरुबाटै टिएमटी डन्डी बजारमा ल्याउने गरी काम अगाडि बढाएको जनाएको छ । उद्योगले अबको १८ महिनाभित्रै आफ्नै अत्याधुनिक मेल्टिङ युनिट पनि सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ । 

सरकारी नीतिमा भएको परिवर्तनसँगै सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा एकै पटक तीन वटा नयाँ मेल्टिङ युनिटसहितका स्टिल उद्योग आएपछि तीन वर्षअघि आरती स्ट्रिप्सले आफ्नो टिएमटी डन्डी उत्पादन युनिट बन्द गरेको थियो । त्यसबेला मेल्टिङ प्लान्ट र बिलेटमा आधारित उत्पादनबिचमा मूल्यान्तर हुँदा बिलेटमा आधारित उद्योगहरूले प्रतिस्पर्धा गर्न नसक्ने अवस्था बनेको थियो । त्यसै बेला आरतीले आफ्नो उत्पादन स्थगित गरेको थियो । 

पछिल्लो बजेटले बिलेटमा आधारित उद्योगलाई पनि प्रतिस्पर्धी बनाउने नीति लिएका कारण आरतीले तत्काल बिलेटमा आधारित उत्पादन सुरु गर्ने र दीर्घकालमा अर्थात् १८ महिनाभित्र स्पन्ज मेल्टिङ प्लान्ट सञ्चालन गर्ने नीति अगाडि सारेको उद्योग सञ्चालक विशाल गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार आरतीमा इटलीबाट ल्याइएको अत्याधुनिक टिएमटी उत्पादन मेसिनबाट उत्पादन गर्ने छ । उहाँले सन् २०२७ भित्र मेल्टिङ युनिट पनि सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । सन् २००२ देखि कर्कटपाता उत्पादन गर्दै आएको आरती स्ट्रिप्सले सिआर सिट र स्क्वायर पाइप पनि उत्पादन गर्छ । गत आवमा उद्योगले १८ अर्ब ५० करोडको कारोबार गरेको थियो जसमध्ये नौ अर्ब ९४ करोडको निर्यात र आठ अर्ब ४७ करोडको देशभित्र बिक्री गरेको थियो ।