• ११ मंसिर २०८१, मङ्गलबार

सडकमा रातो बत्ती बल्दा चोकचोकमा समस्या

blog

काठमाडौँ, असार १८ गते । सडकमा रातो बत्ती बल्नासाथ बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती र काखमा केटाकेटी बोकेका महिला प्रत्येक सवारी चालकसँग हात फैलाउन थाल्छन् । ससाना बालबालिका जबरजस्ती मोटरसाइकल चालकको खुट्टा ढोग्दै माग्छन् । यात्रुले कुनै एउटालाई भीख दिए ती सबै तिनै व्यक्तिका वरपर झुम्मिन्छन् ।काठमाडौँको नयाँसडक, जमल, दरबारमार्ग, बानेश्वर, कोटेश्वर, जडीबुटी, चाबहिल, चुच्चेपाटी, ललितपुरको सातदोबाटो, ग्वार्कोलगायतका चोकमा यस्ता दृश्य देखिन्छन् । 

विशेषगरी भारतीय मूलका बताउने नागरिक काठमाडौँ र ललितपुरका मुख्य सडकका चोकमा निर्धक्कसँग माग्दै हिँड्ने गरेको पाइन्छ । उनीहरूमध्ये प्रायजसोले भारतको राजस्थानबाट आएको बताउने गरेका छन् । कतिपय यस्ता व्यक्ति विभिन्न सङ्घसंस्थाले बनाइदिएका अनेकौैँ सिफारिस बोकेर हिँडेका समेत भेटिन्छन् ।

केही समयअघि सरकारले सहयोगापेक्षी मानवमुक्त सहर बनाउने अभियान नै सञ्चालन गरेर मगन्तेलाई उद्धार गर्दै मानव आश्रममा लगेर राख्ने वा सम्भव भएसम्म परिवारको जिम्मा लगाउने गर्दै आएको थियो । यस अभियानबाट केही समय त सडकपेटीमा माग्न बस्नेको सङ्ख्यामा निकै कम आइसकेको थियो । तर केही महिनायता समस्या बढ्न थालेको छ । 

काठमाडौँ महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालले बालाजु क्षेत्रमा यस्तो समस्या निकै ठूलो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो समस्याले विकराल रूप लिँदै छ । कुनै एउटा वडाले मात्र समस्या समाधान गर्नसक्ने अवस्था छैन ।” केही समयअघि भारतीय सीमाबाट गरिब दुःखीलाई नेपालमा ल्याएर माग्ने पेसामा लगाउने नाइकेसँग कुरा गरेर बस र खानपानको समेत व्यवस्था गरेर उनीहरू आएकै स्थानमा पु¥याए पनि फेरि नयाँ नाइकेले ल्याउन थालेको वडाध्यक्ष रिजालको भनाइ छ । “अहिले पनि हामीले त्यस्ता नाइके पत्ता लगाएर उनीहरूले मगन्ते बनाएकालाई फर्काउन भनिरहेका छौँ,” उहाँले भन्नुभयो । उहाँका अनुसार विशेषगरी वीरगञ्ज नाकाबाट यस्ता समूह नेपाल भिœयाउने गरेको छ । 

सडकमा रोकिएका गाडी चहार्दै माग्ने र माग्न लगाउँदा कामले सडक व्यवस्थापनमा निकै ठूलो चुनौती थपिएको ट्राफिक प्रहरीको भनाइ छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता बालनरसिंह राणाले ससाना केटाकेटीसहित माग्ने पेसा बनाएका बीच सडकमा आउँदा सवारी साधानको आवतजावतमा निकै समस्या सिर्जना गरिरहेको र यसबाट सवारी दुर्घटनाको जोखिम निकै बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस्ता व्यक्ति भारतका सीमा क्षेत्रबाट समूह समूह बनाएर आउने, जहाँ खाली स्थान देखिन्छ, त्यहीँ पाल टाँगेर बस्ने, कुकुर मारेर खाने, चोकचोकमा पैसा माग्ने, सडक पेटीमा र छेउछाउमा बनाएका बगैँचा ओगटेर बस्न, जथाभावी शौच गरेर फोहोर गर्ने गरेका छन् । यसबाट निकै ठूलो सामाजिक समस्या बनेको छ ।”

सडकमा आएर भीख माग्ने बेसहारा, अशक्त, वृद्धवृद्धालाई मानव सेवा आश्रमले उद्धार गर्दै आएको छ । कोभिड–१९ सुरु हुनुभन्दा अगाडि काठमाडौँका सडकपेटीमा माग्न बस्नेको सङ्ख्या प्रायः शून्य थियो । आश्रमले विशेष अभियानका साथ काठमाडौँ महानगरपालिकासँगको समन्वयमा यस्तो कार्य गर्दै आएको थियो । 

मानव सेवा आश्रमका सचिव सुमन बर्तौलाका अनुसार आश्रमले भारतबाट आएर नेपालका सडकमा जीवनयापन गरिरहेका करिब एक सय परिवारलाई त्यहीँ पु¥याएर पारिवारको जिम्मा लगाइएको बताउनुभयो । उहाँले अहिले पनि मानवीय सहायताको आवश्यकता पर्नेहरूलाई बिनाभेदभाव उद्धार गरे पनि माग्नुलाई पेसा बनाउँदै आएकालाई केही गर्न नसकिएको बताउनुभयो । 

काठमाडौँ महानगरपालिकाले हालै ल्याएको नीति तथा कार्यक्रममा पनि सडकमा आइपुगेका विपन्न, बेवारिसे र सहयोगापेक्षीलाई मानव सेवा आश्रममा पु¥याएर उचित व्यवस्थापन गर्ने कार्यलाई थप प्रभावकारी बनाउने उल्लेख गरेको छ  । महानगरपालिकाका सूचना अधिकृत वसन्त आचार्यले व्यवसायका रूपमा भिक्षा माग्ने, माग्न लगाउने कार्यलाई पूर्ण निषेध गर्न छिटै अभियान थाल्ने योजना बनाएको बताउनुभयो । 

उहाँले महानगरपालिकाले यस्ता मानिसहरू कहाँबाट कसरी सडक पेटीमा आइपुग्छन्, अशक्त र अपाङ्गता भएकालाई कसले कहाँबाट ल्याएर छोडेर जान्छन् भन्ने विषयमा पनि निगरानी गरेर पत्ता लगाउने र कारबाहीको अभियान थालिने बताउनुभयो ।  उहाँले सडकमा सवारी साधान चाहर्दै माग्न हिँड्ने पेसेवरलाई निरुत्साहन गर्न उपत्यकका सबै पालिका मिलेर संयुक्त अभियान थाल्नुपर्ने बताउनुभयो । 


Author

राधा चालिसे