काठमाडौँ, असोज २९ गते । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले बदलिदो सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै एकै पटकमा एक सय ६८ जना सशस्त्र प्रहरी अधिकृतहरको कमाण्ड जिम्मवारी बदली गरेको छ ।
सशस्त्रका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जसमा सशस्त्र प्रहरी नायब उपरीक्षक २६ जना, सशस्त्र प्रहरी निरीक्षक ९३ जना र सशस्त्र प्रहरी नायब निरीक्षक ४९ जना गरी जम्मा एक सय ६८ जनाको बदली गरिएको जानकारी दिनुभयो ।
मुख्यालयले कमाण्डमा खटिने अधिकृतहरुको पहिले नै पूर्वानुमान सूची प्रकाशन गर्ने र सोही पूर्वानुमान सूचीमा रहेका अधिकृतहरुलाई नै कमाण्ड जिम्मेवारीमा खटाउँदै आएको छ ।
यस बाहेक विगतमा सीमा क्षेत्रमा खटिएर राजस्व सङ्कलनमा उत्कृष्ट कार्य गरेका अधिकृतहरुलाई कामान्डम प्राथमिकतामा राखेर जिम्मेवारी दिइएको छ । वर्तमान अवस्थामा राजस्व सङ्कलनलाई विशेष जोड दिँदै सोही कार्यमा विगतका र्ट्याक रेकर्ड अनुसार अधिकृतहरुलाई जिम्मेवारी दिने निती सङ्गठनको रहेको छ । यसैगरी लामो समय एउटै प्रदेशमा कार्यरत अधिकृतलाई फरक प्रदेशको युनिटहरुमा खटाइएको छ ।
अनिर्वाय अवकाश हुन कम अवधि बाँकी रहेका सशस्त्र प्रहरी अधिकृतहरुलाई प्राथमिकतामा राखी कमाण्ड जिम्मेवारी खटाउँने तथा आफ्नो वतन तथा कार्यरत क्षेत्रभन्दा फरक भौगोलिक क्षेत्रमा कामकाज गर्ने गरी जिम्मेवारीमा खटाउँदै आएको मुख्यालयले जनाएको छ ।
मुख्यालयले आफुलाई तोकिएको जिम्मेवारी पुरा नगर्ने तथा आचरण विपरितको कार्यमा संलग्न अधिकृतलाई कमाण्ड जिम्मेवारीबाट समेत हटाउँदै आएको छ ।