• २५ असोज २०८२, शनिबार

२० देशका विज्ञहरूबिच एआइबारे छलफल

blog

कार्यक्रममा सहभागीहरू ।

गोरखापत्र अनलाइन 

काठमाडौँ, असोज २५ गते । इन्टरनेट र एआइका विविध विषयमा २० देशका विज्ञहरूले नेपालमा भेला भएर चार दिनसम्म छलफल गरेका छन्। इन्टरनेटको क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेको एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्सद्वारा आयोजित (एपिसिङ २०२५) नाम दिएको सम्मेलन असोज २१ देखि २४ गतेसम्म चलेको थियो । 

आयोजक संस्थाका अध्यक्ष बाबुराम अर्यालका अनुसार सम्मेलनमा १६ चरणमा छलफल चलाइएको थियो । त्यसमा विभिन्न २२ विज्ञ वक्ताहरूको विषयगत प्रस्तुति रहेको थियो । सम्मेलनमा १६ देशका सरकारी अधिकारी, सूचना प्रविधिविज्ञ, प्राध्यापक, पत्रकार, वकिल, अधिकारकर्मी, अनुसन्धानकर्ता लगायतका ३४ फेलोहरू सहभागी भएको उपाध्यक्ष वाकास हसनले जानकारी दिनुभयो।

सम्मेलनमा विषय विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता, अभ्यासकर्ता र पैरवीकर्ताहरूले इन्टरनेटको सही र जिम्मेवार प्रयोग, यसको नियमन तथा व्यवस्थापन, एआईको प्रयोगले भविष्यमा ल्याउन सक्ने अवसर र चुनौती तथा त्यसको व्यवस्थापन, साइबर सुरक्षा, तथ्याङ्क सुरक्षा, सामाजिक सञ्जालहरूको प्रयोग, व्यवस्थापन र नियमन, भ्रामक र प्रायोजित सूचनाको विकृतिबारे छलफल गरिएको छ ।

इन्टरनेटमा पछाडि पारिएका समुदायको पर्याप्त पहुँच र प्रयोग लगायतका विषयमा गहन प्रस्तुति रहेको कार्यक्रममा सहभागीहरूको बिचमा छलफल भएको कार्यक्रममा सहभागी पत्रकार जीवन भण्डारीले जानकारी दिनुभयो ।

सम्मेलनमा सहभागीहरूले अन्य देशमा भइरहेका अभ्यास र अनुभवका आधारमा सिकाइ भएको पाकिस्तानकी सहभागी मार्यम रसिदले बताउनुभयो । सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, म्यानमार, मलेसिया, भुटान, यमन, मङ्गोलिया, पाकिस्तान, कम्बोडिया, इन्डोनेसिया, काजकिस्तान, सिङ्गापुर फिलिपिन्स, भियतनाम, अस्ट्रेलिया, जापान लगायतका २० देशका फेलो तथा वक्ताहरूको सहभागिता रहेको इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटकी निर्देशक सपना शाहीले जानकारी दिनुभयो ।

सहभागीहरूलाई समापन समारोहमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन र एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्सका अध्यक्ष बाबुराम अर्यालले प्रमाणपत्र प्रदान गर्नुभयो ।