बुबा चन्द्रसिंह बराइली र आमा राधिका बराइलीकी प्यारी जेठी छोरी बाबुसँगै देउसीभैलो र बिहेबटुलोमा गीत गाउँदै बाबुको पछि लाग्न थालेकी थिइन् । सन् १९६० अप्रिल २५, रङ्गबुल चियाबारी सोनादा, दार्जिलिङमा जन्मेकी उनी बाल्यकालमा लजालु स्वभावकी थिइन् ।
सधैँ लाज मान्ने भएर होला उनको बालापनका साथी उनलाई घुसघुसे भन्थे । बाबु हार्मोनियम र मादलमा निर्मग्न भएर गाउँघरका धार्मिक तथा मनोरञ्जनात्मक कार्यक्रममा रातभर गाइरहँदा उनी गीत सुन्दासुन्दै भुसुक्क निदाउँथिन् ।
अरू बेला पनि बाबुले घरमा हार्मोनियम बजाउँदा त्यसैको लयमा झुल्दै उनी निदाउँथिन् । छ/सात वर्षकै उमेरमा अरुणा लामाको गीत गुन्गुनाउने उनी लामाकी फ्यान बनिसकेकी थिइन् । सन् १९७० मा आफू अध्ययन गरिरहेको स्थानीय शान्तिरानी स्कुलको वार्षिक कार्यक्रममा पहिलो चोटि मञ्चमा उक्लिइन् र गाइन् ।
एउटी फुच्चीले कुनै नोट नबिराई कोकिलकण्ठी स्वरमा गीत गाएको देखेर उपस्थित सबै मन्त्रमुग्ध भए । यहीँदेखि उनको सहभागिता दार्जिलिङमा हुने भानु जयन्ती आदि कार्यक्रममा हुन थाल्यो । उनी थिइन् सुगम सङ्गीतको एउटा प्रतिनिधि पात्र डेजी बराइली ।
आफ्ना बाबुले पढाउने रङ्गबुल चियाकमानको प्राथमिक स्कुलमा कार्यरत उनका मामा भीमबहादुर लकान्द्रीले प्रारम्भिक चरणमा उनलाई सङ्गीत सिकाएका हुन् । सानी डेजीलाई विद्यालयको खाजा खाने समयमा शिक्षकका कोठामा लगेर थपडीको तालमा गीत गाउन उनले सिकाए । बाजागाजाको त त्यतिखेर कुरै भएन । त्यहाँबाट माथिल्लो शिक्षा उनीले दार्जिलिङको सेन्ट टेरेजा गल्र्स स्कुल र म्युनिसिपल गल्र्स स्कुलबाट विद्यालयीय अध्ययन पूरा गरिन् ।
सङ्गीतका पारखी उनका बाबु चन्द्रसिंहको डेजीप्रति क्रमगत आशा बढ्दै गयो । डेजीको गायकीको भेउ उनले पाउँदै गए । त्यतिखेर दार्जिलिङमा बद्री दुर्गा खरेलको साङ्गीतिक सक्रियता चर्को थियो । दुवै सङ्गीतका शास्त्रीय र सैद्धान्तिक ज्ञानका ज्ञाता पनि थिए । अब डेजीका बाबु चन्द्रसिंहले छोरीलाई सङ्गीतको ज्ञानका लागि उनै बद्री दुर्गाको गुरुकुलमा सुम्पिदिए । गायनसँगै पढाइप्रति पनि रुचि राख्दै डेजी आफ्नो कर्ममा खारिँदै गइन् । आकाशवाणी खर्साङ र रेडियो नेपालका गीति कार्यक्रम नबिराई सुन्थिन् उनी ।
एक दिन आकाशवाणी खर्साङको स्वरपरीक्षाका लागि बाबु चन्द्रसिंहले डेजीका लागि आवेदन भरेर बुझाइदिए । डेजीको रुचिका केही गीतसहित फाराम भरेर पठाउने सुझाव उनै गुरुहरू बद्री दुर्गाको थियो । केही दिनमा उनलाई स्वर परीक्षाका लागि आमन्त्रण भयो र आफ्नै गुरुहरूका पछि लागेर उनी खर्साङ पुगिन् ।
पहिलो पटकमा नै उनी स्वर परीक्षामा उत्तीर्ण भइन् । सन् १९७४ मा पहिलो पटकमै उनको स्वरमा जस योन्जन प्यासीको शब्द र बद्री दुर्गा खरेलको सङ्गीतमा झझल्कोमा ‘सधैँ सधैँ ...’ बोलको गीत रेकर्ड हुन पुग्यो । परिपक्व स्वर र सुमधुर गायकीले उनलाई १४ वर्षको उमेरमै लोकप्रियताको सिँढी चढ्न मद्दत ग¥यो ।
कालिम्पोङको सेन्ट सेलिमिना स्कुलले फेरि अर्को रामायण नामक गीतप्रधान नाटक प्रस्तुत गर्ने क्रममा उनी पाश्र्वगायिकाको भूमिका निर्वाह गर्न पुगिन् । त्यो जमानामा दार्जिलिङ र कालिम्पोङमा अत्यन्त सफल रहेको सो नाटकको टोली नाटक प्रदर्शनका लागि काठमाडौँ आउने भयो । दार्जिलिङका गायकगायिकाको सपनाको सहर काठमाडौँ र अन्तिम गन्तव्य रेडियो नेपाल हुन्थ्यो ।
नाटक काठमाडौँ आउने भएपछि बद्री दुर्गाले डेजी र दावा ग्याल्मोलाई पनि पाश्र्वगायनका लागि काठमाडौँ पठाउने व्यवस्था गरे । पहिलो पटक काठमाडौँ टेकेकी डेजीको अब भने गायकी संसारको अर्को अध्याय सुरु हुन गयो । काठमाडौँमा एक हप्ताका लागि भनेर आएको नाटक टोली नाटकको माग बढेपछि एक महिनासम्म प्रदर्शनका लागि यतै बस्यो ।
यसैबिच एक दिन वरिष्ठ गीतकार, गायक र सङ्गीतकार गोपाल योन्जन पनि सो नाटक हेर्न गएका थिए । नाटकमा उनले कैकेयीको चरित्रमाथि पूर्ण न्याय गर्दै गाइएको सार्थक गीताङ्शबाट अत्यन्त प्रभावित भई त्यस गीताङ्शकी गायिकाको सोधखोज गर्न पुगे । त्यो गीतमा स्वर डेजी बराइलीको यकिन भएपछि आकर्षक र लोभलाग्दो स्वरबाट प्रभावित भएर योन्जन एउटा मात्र भए पनि डेजीको स्वरमा आफ्नो गीत रेकर्ड गराइछाड्ने अठोटमा पुगे ।
नाटकको टोली एक महिनापछि फर्कियो तर गोपालको अनुरोधमा डेजी र दावा काठमाडौँमै रहे । दुई चेलीको जिम्मा लिएका योन्जनले सन् १९७५ मा ‘भैँसी लड्यो है माया भिरबाट हेर ...’ बोलको गीत रेकर्ड गराइछाडे । रत्न रेकर्डिङ संस्थानको स्टुडियोमा रेकर्ड गरिएको सो गीत गाएबापत पारिश्रमिक स्वरूप रु. सात सय उनलाई दिइयो ।
कमल दर्नालको शब्द र सङ्गीतमा सो गीत रेडियोबाट गुन्जिएपछि डेजीको लोकप्रियताको पारो सेलिब्रेटीमा मात्र होइन एउटा लोभलाग्दो स्टारडममा परिणत भयो । नेपाल र भारत दुवैतिर लोकप्रियताको शिखर चुम्न थालिन् डेजी । समाजका हरेक तप्काका युवा, बाल, वृद्ध र वनिताको ओठ ओठमा लोकलयको सो गीतले राज ग¥यो । एउटा साधारण नाटक टोलीमा पाश्र्वगायिकाको भूमिकामा सहभागी भएर नेपाल आएकी डेजीले गोपाल योन्जन जस्ता सङ्गीत महारथीसँग भेट होला र ‘भैँसी लड्यो है माया.. ...’ जस्तो लोकप्रिय गीतको रेकर्ड होला भनेर कहाँ कल्पना गर्नु ?
जीवनको एउटा अभूतपूर्व उपलब्धिपछि उनले आफ्नो गृहनगर फर्केर पढाइलाई निरन्तर दिँदै लोरेटो कलेज र रामकृष्ण बिटी कलेजबाट स्नातक गर्न पुगिन् । स्नातकपछि उनले आइसिइडी नामक संस्थामा नोकरी पनि सुरु गरिन् । स्कुल, कलेज र नोकरीको अवधिमा समेत उनले फुर्सदको समयमा काठमाडौँ र खर्साङ आउजाउ गर्दै गीत रेकर्ड गरिरहिन् ।
यसै सिलसिलामा उनले ओमविक्रम विष्ट, जस योन्जन प्यासी, नर्देन रुम्बा, कमल दर्नाल, पुरण गिरी, कमल गुरुङ, देवकुमार दुमी, कालीप्रसाद रिजाल, सुरेन्द्र थिङ, चन्द्रमित लक्सम, नोर्जाङ स्याङ्देन, हरिभक्त कटुवाल, शशि ठटाल, गोविन्द घतानी, शरण प्रधान, गोपाल योन्जन तथा भैरवनाथ रिमाल ‘कदम’ आदिका शब्दमा शरण प्रधान, बद्री दुर्गा खरेल, ओमविक्रम विष्ट, वसन्त क्षेत्री, चन्दन लमजेल, गोपाल योन्जन, शान्ति ठटाल, प्रतापसिंह लोहार, गौतम लेप्चा, देवकुमार दुमी तथा कर्म योन्जन आदिको सङ्गीतमा आफ्ना सुरिला भाखा प्रस्तुत गर्दै रहिन् ।
‘भैँसी लड्यो है माया भिरबाट हेर ...’ गीत रेकर्ड भई जनमनमा गुन्जिएपछि दार्जिलिङका रङ्गमञ्चमा उनको माग ह्वात्तै बढ्यो । सन् १९७१ देखि दार्जिलिङमा कार्निभल ब्यान्ड चलाउँदै आएका चन्दन लमजेल एक पटक त्यहाँको भानु जयन्तीमा गोरखा दुःख निवारक सम्मेलनद्वारा आयोजित स्टेज सोमा डेजीको स्वरमा ‘भैँसी लड्यो है माया... ’ गीतमा एकोर्डियन बजाउँदै थिए ।
डेजी आफैँलाई भुलेर स्वर उराल्दै थिइन् तर एक्कासि चन्दनले गीत नसकिँदै एकोर्डिनको बिट मारिदिएपछि डेजीले पूरै गीत नगाई छाड्नु प¥यो । आफ्नो बुलन्द गायकीमा ठेस लागेपछि चन्दनसित उनी निकै रिसाइन् । झगडा नै प¥यो उनीहरूको तर चन्दनले आफ्नो गल्ती स्वीकार गरेपछि डेजी मत्थर भइन् ।
जिन्दगीमा कहिलेकाहीँ नकारात्मक घटनाले पनि सकारात्मकताको बिउ रोप्दो रहेछ । चन्दनले चलनचल्तीका गीतमा तीन/चार वटा मात्र अन्तरा हुने हुँदा गीत सकिएको बुझी एकोर्डियनको बिट मारेका रहेछन् तर सो गीतमा भने पाँच अन्तरा थिए । वास्तविक कुरा यो रहेछ र यो कुरा डेजीले बुझेपछि उनको रिसको पारो पनि स्वात्तै झ¥यो ।
डेजी र चन्दनको त्यस दिनदेखि मित्रता झाँगिँदै गयो । डेजी पनि कार्निभलमा समावेश भई थुप्रै कार्यक्रममा चन्दनसित सहयात्रा गर्न पुगेपछि उनीहरूको मित्रता प्रेममा रूपान्तरण हुन पुग्यो । मित्रताको त्यो फूल सन् १९८८ मा मज्जाले फक्रियो अर्थात् उनीहरू दाम्पत्य जीवनमा नै बाँधिए ।
स्वरकर्मी डेजी र सुरकर्मी चन्दनको समागमपछि के चाहियो र ? उनीहरूको सानो मेहनतले पनि समुन्नत सरगम निर्माण हुन थाल्यो । केही समयपछि उनीहरू दुवै पश्चिम बङ्गाल राज्य अन्तर्गतको लोक मनोरञ्जन शाखामा जोडिन पुगे । बिहेपछि प्रायः महिला घरगृहस्थीमा नै सीमित रहने परिस्थितिविपरीत आफ्नो मन बुझ्ने सङ्गीतकार श्रीमान् पाएपछि डेजी झन् निस्फिक्री भएर सङ्गीतकर्ममा लाग्न थालिन् ।
आफ्नै बाबु चन्द्रसिंह, सङ्गीतकर्मी बद्री दुर्गा खरेल, स्वर महारथी गोपाल योन्जन तथा आफ्नै जीवनसाथी चन्दनका कारण गायकी जीवनमा डेजीले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । सानो प्रयासले ठूलो सफलता पाउने स्वरकर्मीको उदाहरणमा हामी डेजीको नाम निर्धक्क लिन सक्छौँ ।
अल इन्डिया रेडियो खर्साङ, रेडियो नेपाल र रत्न रेकर्डिङ संस्थानबाट गरी उनका सयौँ गीत रेकर्ड भएका छन् । यसै मेसोमा उनको मुटुभरिका गीत विशेष लोकप्रिय भएको थियो एक जमानामा । श्रीमान्को अभिभावकीय, मायालु र सहयोगी भावना नै आफ्नो सिर्जनात्मक जीवनको कारक मान्ने डेजी आफ्ना छोरा अनमोल र छोरी विमोचना दुवै सङ्गीतमै रमाएकोमा औधि खुसी भइन् ।
छोरा अनमोल मुम्बईमा मोहित चौहानको ब्यान्डमा गितारवादकका रूपमा छन् भने विमोचना नवोदित गायिकाका रूपमा चर्चामा छिन् । आफ्नो गीतको शब्द ‘एउटा खुल्ला किताब हुँ म....’ झैँ डेजीको जीवन पनि खुला किताब जस्तै रहेको छ । भर्सटाइल गायिका डेजीका ‘एउटा खुल्ला किताब हुँ म ....’ र ‘भैँसी लड्यो है माया भिरबाट लहेर ...’ लाई तुलना गरी हेर्दा तिनको गायकी रेन्ज स्केलबाट पनि उनी जस्तासुकै गीत पनि गाउन सक्छिन् भन्ने कुराको अनुभूत हुन्छ ।
नेपालमा नेपालयद्वारा आयोजित पलेँटी शृङ्खलामा उनले कालजयी कार्यक्रम दिनुका साथै भारतका विभिन्न सहरमा यस्ता प्रस्तुति दिइन् । ‘शुभकामना खाली खाली....’, ‘मायालुले सम्झियो कि कसो...’, ‘फूलको डाली डाली ....’ जस्ता काव्यिक गहिराइ भएका कर्णप्रिय र कालजयी गीतका स्रष्टा डेजी बराइलीले नेपाल र भारतबाट प्रशस्त सम्मान र पुरस्कार पाइन् ।
हाल चौरस्तामुन्तिर रहेको हुकर रोडकी स्थायी बासिन्दा उनी नेपालप्रति नतमस्तक छिन् । नेपालले उनको गायकी जीवनमा सफलताको एकपछि अर्को प्लेटफर्म प्रदान गरेको छ । परिवारका चारै सदस्य सङ्गीतमा नै समर्पित रहेकाले उनको घर पूरै सम्मानपत्र, विभिन्न अवार्ड, संवर्धनापत्र, सङ्गीत विषयक पुस्तक, विभिन्न कलात्मक वस्तु र मायाको चिनोले भरिएको छ ।
लाग्छ चन्दन डेजीको यो घर एउटा घर मात्र नरहेर नेपाली सङ्गीतको विशेष सङ्ग्रहालय नै हो । लमजेल परिवारले यो सङ्ग्रहालयलाई ती नेपाली सङ्गीत महारथीहरू अम्बर गुरुङ, गोपाल योन्जन र अरुणा लामाका नाममा अगोह सङ्ग्रहालयका नाममा विकास गर्ने सोचाइ राखेको छ ।
उनले भारतबाट प्राप्त गरेको अरुणा लामा स्मृति सम्मान र नेपालको नइ कोइलीदेवी पुरस्कार, वाणी प्रकाशन पुरस्कार तथा वनिता सम्मान विशेष उल्लेखनीय छन् । पोखराको हर्माेनीबाट नेपाली सङ्गीतजगत्की स्वरमल्लिकाको उपमा बराइलीलाई प्राप्त भएको छ । भारतबाट उनले पाएका सम्मानको फेहरिस्त लामो छ भने नेपाली सङ्गीतका भावकको उनीप्रतिको सम्मान नै सबैभन्दा उच्च हो, लमजेल परिवार यसै भन्छ ।
–युवामञ्च