• १६ चैत २०८०, शुक्रबार

चितवनका ५० हजार परिवार बाढीको जोखिममा

blog

चितवन, असार १६ गते । जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्सातका कारण प्रभावित बन्नेछन् । बाढीबाट भरतपुर महानगरपालिका बढी प्रभावित हुने देखिएको छ । भरतपुर महानगरपालिकामा ३० हजार परिवार प्रभावित बन्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । 

यस्तै माडी नगरपालिकाका चार हजार ५०० परिवार, रत्ननगरका पाँच हजार, कालिका नगरपालिकाका एक हजार ५०, खैरहनी नगरपालिकाका ३२० र राप्ती नगरपालिकाका ११ परिवार प्रभावित हुने अवस्था छ । यसैगरी पहिरोका कारण भरतपुर महानगरपालिकाका ३००, कालिकाका १००, राप्तीका २०० तथा इच्छाकामना गाउँपालिकाका १२५ परिवार प्रभावित बन्ने अवस्था रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । 

बाढी र पहिराको खतरा बढेकाले सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी अाशमान तामाङले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “नारायणी र राप्ती नदीका कारण जोखिम बढेको छ । जोखिम न्यूनीकरणको तयारीमा जुटेका छौँ ।” उद्धारका लागि सुरक्षा निकायलाई सतर्क अवस्थामा रहन निर्देशन दिइएको उहाँले बताउनुभयो ।