चितवन, असोज ९ गते । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोलामा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । मङ्गलबार खसेको पहिरो राति पन्छाएसँगै दुईतर्फीरूपमा सडक सञ्ञ्चानमा आएको हो ।
डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार मङ्गलबार दिनको ४ः३० बजेदेखि अबरुद्ध भएको सडक दुई दिन लगाएर पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो ।
सडक सञ्चालन भएसँगै रोकिएका सयौँ सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन् । मङ्गलबार इच्छाकामना गाउँपालिका वडा ६ तुइन खोलामा पहिरो खसेको थियो । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी गुड्ने गर्दछन् ।
सडकमा गत एक सातादेखि मालबाहक सवारीहरू रोकिएका थिए । यात्रुवाहक केही सवारीसाधन भने सडक आंशिकरूपमा खुला भएको समयमा पार हुँदैआएका थिए ।