• १८ असोज २०८२, शनिबार

सप्तरीका प्रहरी कार्यालय र बिटमा ३१ लाखभन्दा बढीको क्षति

blog

इलाका प्रहरी कार्यालय बोदेबर्साइनको क्षतिग्रस गाडी । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), असोज ८ गते ।
जेनजीको आन्दोलनको क्रममा जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी कार्यालय तथा बिटमा तोडफोड र आगजनीबाट लाखौंको क्षति भएको छ ।

भदौ २४ मा जेनजीले थालेको प्रदर्शनको क्रममा जिल्लाको विभिन्न स्थानमा रहेको प्रहरी कार्यालय र बिटमा भएको तोडफोड र आगजनीबाट ३१ लाख ८५ हजार रुपियाँ बराबरको क्षति भएको हो ।

इलाका प्रहरी कार्यालय कल्याणपुरमा एक लाख, इलाका प्रहरी कार्यालय बोदेबर्साइनमा १२ लाख, प्रहरी चौकी मौवहामा ३५ हजार, जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई सप्तरीमा १५ लाख र उच्च अदालत गार्ड राजविराजमा ३५ हजार गरी ३१ लाख ८५ हजार रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।

उहाँले सबैभन्दा बढी क्षति इलाका प्रहरी बोदेबर्साइन र जिल्ला अदालत सुरक्षा प्रहरी इकाईमा भएको बताउनुभयो ।

जिल्ला अदालतमा प्रहरीले लगाउने ड्रेस, विस्तरासँगै चार वटा निजी मोटरसाईलसहित पूर्ण रुपमा जलेर नष्ट भएको र एउटामा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।