• २२ कात्तिक २०८२, शनिबार

शुक्लाफाँटाको क्षति तीन करोडभन्दा बढी

blog

शुक्लाफाँटा नगरपालिका । तस्बिर : भवानीदत्त भट्ट

बेलौरी समाचारदाता

कञ्चनपुर, असोज ७ गते । ‘जेनजी’ आन्दोलनका क्रममा भएको घुसपैठका क्रममा यहाँको शुक्लाफाँटा नगरपालिकाले तीन करोडभन्दा बढीको क्षति बेहोर्नु परेको छ । गत भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका नाममा घुसपैठ हुँदा भएको तोडफोड र आगजनीबाट नगरपालिकाको कार्यालय र यहाँका १२ वटै वडामा गरेर तीन करोड ३१ लाख ९३ हजार रुपियाँ बराबरको क्षति बेहोर्नु परेको बताइएको छ । 

सोमबार नगरपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको क्षतिको विवरण अनुसार, यहाँको वडा नम्बर आठ कार्यालयले अत्यधिक क्षति बेहोर्नु परेको उल्लेख छ । यसै गरी नगरपालिका कार्यालयमा भएको आगजनी तथा तोडफोडबाट २३ लाख रुपियाँ बराबरको क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताउनुभयो । उहाँका अनुसार, नगरपालिकामा सिसाका झ्याल, ढोका र ट्वाइलेटमा टुटफुट हुँदा २३ लाख पाँच हजार रुपियाँ बराबरको क्षति पुगेको छ । 

१२ वडा कार्यालय रहेका शुक्लाफाँटा नगरपालिकामा वडा नम्बर ८ जलेर ध्वस्त भएको नगरपालिकाले जनाएको छ । यस वडामा मात्रै ५५ लाख बराबरको क्षति पुगेको नगरपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको विवरणमा उल्लेख छ । ८ नम्बर वडा कार्यालय भवनमा मात्रै ३५ लाख रुपियाँको क्षति पुगेको नगरपालिकाका प्रवक्ता लालबहादुर ऐरले बताउनुभयो । 

उहाँका अनुसार, वडा नम्बर ८ मा दुई लाख ५० हजार बराबरको वाइरिङ जलेर नष्ट भएको छ भने, दुई लाख ६४ हजार बराबरका तीन ल्यापटप जलेर नष्ट भएका छन् । यसै गरी वडा नम्बर ८ पछि यहाँको वडा नम्बर १ कार्यालयमा ४६ लाख बराबरको क्षति पुगेको छ । आगलागीबाट वडा नम्बर १ को भवनभित्र ३५ लाख रुपियाँ बराबरको क्षति पुगेको छ । यसै गरी ९७ हजार रुपियाँ मूल्य बराबरका सोफा सेट जलेर नष्ट भएका छन् भने, एक लाख ५० हजार रुपियाँ बराबरका ल्याब सामग्री जलेर नष्ट भएका छन् । २७ हजार बराबरका सिसा टुटेका छन् भने ७० हजार बराबरका प्लास्टिक कुर्सी जलेर नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत विष्टले बताउनुभयो ।  

यसै गरी वडा नम्बर २ मा २२ लाख ६९ हजार रुपियाँ बराबरको क्षति पुगेको छ भने वडा नम्बर ३ मा २४ लाख ५० हजार रुपियाँ बराबरको क्षति पुगेको नगर प्रवक्ता ऐरले बताउनुभयो । यहाँको वडा नम्बर ४ मा १४ लाख ६७ हजार, वडा नम्बर ५ मा २२ लाख ९० हजार र वडा नम्बर ६ मा १८ लाख ३८ हजार रुपियाँ बराबरको क्षति पुगेको नगरपालिकाले मन्त्रालयमा पठाएको विवरणमा उल्लेख छ । वडा नम्बर ७ मा ४४ लाख बढीको क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत विष्टले बताउनुभयो । उहाँका अनुसार, यस वडामा पानीको बोतलमा मात्रै ३२ हजार पाँच सय रुपियाँ क्षति भएको छ ।  

नगरपालिकाका अनुसार, वडा नम्बर ९ मा पनि १५ लाख २१ हजार बराबरको क्षति पुगेको छ भने, वडा नम्बर १० मा ४३ लाख ७४ हजार बराबरको क्षति पुगेको छ । यस वडामा अत्यधिक क्षति गमला बिरुवामा पुगेको छ । ५७ हजार ७५० रुपियाँ बराबरका गमला बिरुवामा क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत विष्टले बताउनुभयो । यसै गरी वडा नम्बर ११ ले १३ लाख ८० हजार रुपियाँ र वडा नम्बर १२ ले १६ लाख रुपियाँ बराबरको क्षति बेहोर्नु परेको नगरपालिकाले जनाएको छ । वडा नम्बर ८ का अध्यक्ष बहादुरसिंह महराले वडा कार्यालय जलेपछि सञ्चालनमा समस्या भएको बताउनुभयो । अहिले सामान्य सिफारिसका काम भने नगरपालिकाबाटै सञ्चालन गरिएको वडाध्यक्ष महराले बताउनुभयो ।