प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), असोज ७ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटले रौतहटको तीन ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको समन्वयमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
हिन्दुहरुको महान पर्व दसैँतिहार तथा छठ पर्वमा यात्रुहरूलाई सहजीकरणका लागि रौतहट सदरमुकाम गौर, मध्य भाग गरुडा तथा महेन्द्र राजमार्गअन्तर्गत चन्द्रनिगाहपुरमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको रौतहट ट्राफिक प्रहरी प्रमुख अधिकारिले बताउनुभयो ।
यात्रुलाई सार्वजनिक सवारी साधनमा यात्रा गर्दा आइ पर्ने समस्या समाधानका लागि यात्रु सहायता कक्षमा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो ।
चाडपर्वको मौका छोपी अनाधिकृत भाडा असुल गर्ने समस्या अत्याधिक हुने गरेकाले त्यस्तो अवस्था आए यात्रु सहायता कक्षमा सम्पर्क गर्न उहाँको भनाइ रहेको छ । अन्य समय भन्दा चाडपर्वको बेलामा बढी भाडा असुल गरेको जानकारी या गुनासो आएमा कारबाही गरिने प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । दसैँतिहार र छठ पर्वको समयमा हरेक वर्ष यात्रु सहायता कक्ष स्थापना हुँदै आएको छ ।
यात्रु सहायता कक्ष स्थापना भए पछि भाडा बढि लिएको खण्डमा सार्वजनिक सवारी साधनलाई कारबाहीको डर हुने भएकाले यात्रुहरुलाई सहज भएको राजपुर –२ का हरेन्द्र साहले बताउनुभयो ।