• ६ असोज २०८२, सोमबार

मुग्लिन सडक खण्डमा राति यातायात सञ्चालनमा रोक

blog

तुइन खोलामा पहिरो पन्छाएर सञ्चालन गरिएको बाटो ।

शालिग्राम नेपाल 

चितवन, असोज ५ गते । छयालिस घण्टा अवरुद्ध सडक आज साँझ सञ्चालनमा आए पनि जोखिम कम गर्न मुग्लिन नारायणगढ सडक राति बन्द गरिएको छ । 

सडक खण्डको तुइन खोलामा पहिरो आएर शुक्रबारदेखि अवरुद्ध सडक आइतबार राति ९ देखि विहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । पहिरो जानेक्रम नरोकिएकाले सम्भावित जोखिम कम गर्न रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।

एक हप्तादेखि सो सडक खण्डमा पहिरो झरिरहेको छ । तुइन खोलामा सुख्खा पहिरो झर्नेक्रम जारी छ । आइतबार पनि पहिरो आउदै रोकिदै गरेको थियो । आइतबार पाँच घण्टा एकतर्फी सवारी साधन सञ्चालन गरेपछि यातायात चलाउन रोक लगाएको हो ।

गत वर्ष असारमा राति पहिरोले दुईवटा रात्रिवस त्रिशुलीमा झारेको थियो । कुनै अप्रिय घटना हुन नदिन रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले बताउनुभयो ।