• ५ असोज २०८२, आइतबार

आठ वर्षमा पनि बनेन् पुल

blog

तुलसीपुर–१३, गिधनियास्थित दुई सोता खोलामा निर्माणाधीन पुल । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, असोज ५ गते । दाङमा एक वर्ष छ महिनामा बन्नुपर्ने पुल निर्माण व्यवसायीको लापरबाहीका कारण आठ वर्षसम्म अलपत्र परेको छ । तुलसीपुर उपमहानगरपालिका–१३, गिधनियास्थित दुई सोता पुल लामो समयसम्म बन्न नसक्दा अलपत्र परेको हो । 

२०७६ असोज महिनासम्म पुल निर्माणको काम सक्ने गरी २०७४ साल असारमा बाँकेको नेपालगन्ज एडभेन्चर जेभीसँग ६ करोड ८२ लाख ३७ हजार रुपियाँमा ठेक्का सम्झौता भएको थियो । सडक डिभिजन कार्यालय दाङका अनुसार सम्झौता अनुसार समयमै पुल निर्माणको काम हुन नसकेपछि चार पटकसम्म म्यादथप गरिएको थियो । 

चार पटकसम्म म्याद थप गर्दा पनि ३० मिटर लम्बाइ र सात मिटर चौडाई भएको पुलको दुईतिरको पिलर उठाउनेसम्मको काम भएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी इन्जिनियर युवराज पाण्डेय बताउनुहुन्छ। 

पटक–पटक म्याद थप गर्दा पनि पुल निर्माण हुन नसकेपछि सडक डिभिजन कार्यालय दाङले २०८० फागुन ११ गते ठेक्का सम्झौता रद्ध गर्ने निर्णय गरेर विभागमा पठाएको सूचना अधिकारी इन्जिनियर पाण्डेय बताउनुहुन्छ । उहाँका अनुसार ठेक्का तोड्ने निर्णय भएसँगै लामो समय काम नगरेर पुल अलपत्र पार्ने निर्माण कम्पनी अदालतमा गएपछि पुल निर्माणको काम अघि बढ्न नसकेको बताउनुभयो।

सूचना अधिकारी पाण्डेयका अनुसार २०८० फागुन ११ गते ठेक्का सम्झौता रद्ध गर्ने निर्णय भएपछि निर्माण कम्पनीले २०८० चैत ६ गते जिल्ला अदालत दाङमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्धा जिल्ला अदालत दाङले २०८० चैत १७ गते खारेज गरिदिएपछि निर्माण व्यवसायी २०८१ जेठ २५ गते उच्च अदालत पुगेका थिए । 

जिल्ला अदालतको निर्णयलाई सदर गर्दै उच्च अदालत पाटनले पनि २०८१ असार १० गते उक्त मुद्धा खारेज गरेपछि निर्माण व्यवसायी २०८१ साउनको ३० गते सर्वाेच्च अदालत पुगे पनि फैसल्ला नहुँदा पुल निर्माणको काम अघि बढ्न सकेको थिएन । 

 सूचना अधिकारी पाण्डेयका अनुसार निर्माण व्यवसायी सर्वोच्च अदालत पुगेपछि अदालतले २०८१ साउनको ३२ गते कार्यालयसँग ठेक्का रद्ध गर्नुपर्ने लिखित कारण माग गरेको र सोही अनुसार कार्यालयले पठाएको थियो । तर जेन–जी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएपछि थप ढिलाई हुने भएको सूचना अधिकारी पाण्डेय बताउनुहुन्छ । पुल निर्माण नहुँदा वर्षाको समयमा स्थानीयलाई समस्या हुने गरेको छ ।