• १६ चैत २०८०, शुक्रबार

बीपी प्रतिष्ठानमा असार २० गतेदेखि स्वास्थ्य बीमा स्थगित हुँदै

blog


निशा राई 

धरान, असार १४ गते । धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान असार २० गतेदेखि स्वास्थ्य बीमाको सबै सेवा स्थगित हुुँदैछ ।

उपकुलपति ज्ञानेन्द्र गिरीले ३४ करोडभन्दा बढी बीमा रकम बीमा बोर्डबाट उपलब्ध नभएको भन्दै यही असार २० गतेदेखि स्वास्थ्य बीमाका सम्पूर्ण सेवाहरु स्थगन हुने बताउनुभयाे ।

उहाँका अनुसार बीमा बोर्डबाट पाउनुपर्ने रकम नपाएकाले तलब भत्ता, दैनिक प्रशासनिक तथा अस्पताल खर्चमा प्रतिकूल प्रभाव परेको उल्लेख गर्नुहुँदै यथाशीघ्र भुक्तानी नगरिए बहिरङ्ग (ओपिडी) र इमर्जेन्सीलगायतका सम्पूर्ण सेवा स्थगित हुनेछ ।

प्रतिष्ठानले यसअघि पनि स्वास्थ्य बीमाको प्राविधिक तथा अन्य समस्याको हल गर्न बीमा बोर्डले गम्भीरता नदेखाएको भन्दै स्थगन गर्ने घोषणा गरेको थियो । तर, गत जेठ २० गते प्रधानमन्त्री कार्यालय, बीमा बोर्डका पदाधिकारीहरु तथा सम्बद्ध अधिकारीहरुबीच प्रतिष्ठानमा छलफल भएकाे थियो ।

प्रतिष्ठानका अनुसार दाबी गरेको रकमलाई बीमा बोर्डले अवमूल्यन गरिदिने वा रकम नै नदिने गरेकाे छ । अवमूल्यन गरिदिने वा अस्वीकार भएको रकम नाै करोडभन्दा बढी छ । यस्तै ३४ करोडभन्दा बढी दाबी भएर स्वीकृत भएका रकम बीमितहरूले पाउन बाँकी छ ।

प्रतिष्ठानको प्रमुख आम्दानीको स्रोत नै उपचार गर्न आउने बिरामीहरुको उपचार सेवा वापतको शुल्क हो । तर बीमा कार्यक्रमका कारण ७० प्रतिशत रकम बीमा सेवा दिए वापत बोर्डबाट समयमा नपाउँदा आर्थिक सङ्कट भएको छ । 

पाउनुपर्ने रकम नपाउँदा प्रतिष्ठानमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ तथा अन्य कर्मचारीहरुको नियमित तलब भत्तालगायत दैनिक प्रशासनिक खर्च एवं अस्पतालको दैनिक सञ्चालन खर्चमा समेत प्रतिकूल प्रभाव परेको उपकुलपति डा. गिरी बताउनुहुन्छ । 

बीपी प्रतिष्ठान स्वायत्त संस्था भएकाले सरकारले भौतिक पूर्वाधार निर्माणबाहेक अन्य खर्चको लागि बजेट उपलब्ध गराउँदैन । यहाँको दैनिक प्रशासनिक तथा सञ्चालनको लागि आवश्यक खर्च, तलबभत्तालगायत सबै प्रतिष्ठान आफैँले नै व्यवस्थापन गर्नुपर्ने उपकुलपति डा. गिरीले जानकारी दिनुभयाे ।