• १ असोज २०८२, बुधबार

औषधीका लागि सडकमा जुत्ता पालिस

blog

बैतडी समाचारदाता

बैतडी, असोज १ गते । मुटुरोगको नियमित औषधी खर्च जुटाउन भानु भुल दैनिक जसो सडकपेटीमा बसेर जुत्ता मर्मत र पालिस गर्दै आउनुभएको छ । तीन वर्षअघि उहाँको मुटुको भल्बमा समस्या देखिएपछि छिमेकीसँग ऋण निकालेर उपचार गरेको पैसा तिर्न सक्नुभएको छैन । 

दशरथ चन्द नगरपालिका–४, बाडीलेकको मुक्त हलिया बस्तीमा बस्दै आएका ५५ वर्षीय भानु भुलको घरबाहेक कमाइ खाने एक टुक्रा पनि जमिन छैन । मुटुको भल्बमा समस्या देखिएपछि उहाँ तीन वर्षदेखि नियमित औषधी सेवन गर्दै आउनुभएको छ । 

औषधी खर्चका लागि सडकमा बसेर जुत्ताचप्पल मर्मत र पालिस गर्दै आएको उहाँले बताउनुभयो । कुनै दिन त एक जना पनि ग्राहक नहुँदा रित्तो हात घर फर्किने गरेको उहाँले पीडा सुनाउनुभयो । मुटुरोगको औषधी किन्न मासिक पाँच हजारभन्दा बढी खर्च आवश्यक पर्ने भएकाले श्रीमतीले पनि ज्याला मजदुरी गर्दै आएको उहाँले बताउनुभयो । ज्याला मजदुरी गर्न नपाएका दिन परिवारका पाँच जनालाई छाक टार्न पनि मुस्किल हुने गरेको उहाँले पीडा सुनाउनुभयो । घरको आर्थिक अवस्था कमजोर भएपछि कान्छो छोराले बिचमै पढाइ छाडेको उहाँले बताउनुभयो ।