गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १ गते । जेनजीले भदौ २३ र २४ गते गरेको आन्दोलन हिंसात्मक भई प्रदर्शनकारीको निसानामा परेर ध्वस्त बनाइएका प्रहरी युनिट स्थानीयको श्रमदान र आर्थिक सहयोगमा पुनर्निर्माण हुँदै छन् । प्रदर्शनका क्रममा सहरी क्षेत्रका अधिकांश प्रहरी युनिट तोडफोड र आगजनी गरी ध्वस्त पारी कार्यरत प्रहरीको हतियार र पोसाक लुटिएपछि प्रहरी नियमित अवस्थामा फर्किन सकेको छैन ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार काठमाडौँ उपत्यकामा १२२ वटा प्रहरी कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त र ९६ वटा आंशिक रूपमा क्षतिग्रस्त बनेका छन् । त्यसै गरी आगजनीबाट प्रहरीका ११७ वटा चारपाङ्गे र १५८ वटा दुईपाङ्ग्रे सवारीसाधन नष्ट पारिएको छ । थप १२१ वटा चारपाङ्ग्रे सवारीमा क्षति पुगेको छ । प्रदर्शनकारीले जलाएर पूर्ण रूपमा क्षतिग्रस्त बनाइएका अधिकांश प्रहरी युनिट पुनस्र्थापना गर्न स्थानीय स्वस्फूर्तमा रूपमा जुटेका छन् ।
खनालका अनुसार प्रहरीले आग्रहबिना नै स्थानीय व्यक्ति, सङ्घ संस्था र विभिन्न निकाय जलेको खरानी सफा गर्ने, रङरोगन गर्न र आफूले सक्दो सहयोगमा जुटिरहेका छन् । आगजनी, तोडफोडबाट विस्थापित भई अधिकांश प्रहरी युनिट जिल्ला प्रहरी परिसरमा पुगेका छन् । वरिष्ठ उपरीक्षक खनालले भन्नुभयो, “शान्ति सुरक्षाको महत्वलाई बुझेर विस्थापित प्रहरीलाई पुनस्र्थापन गर्न स्थानीय स्वस्फूर्त रूपमा जुटेका छन् । यो प्रयासलाई हामीले अत्यन्तै सकारात्मक रूपमा लिएका छौँ ।” उहाँले स्थानीयले आफ्नै सम्पत्ति ठानी सुरक्षाको महत्वलाई आत्मसात् गरी, पुनस्र्थापनामा जुटेका कारण शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सहज हुने बताउनुभयो ।
कोटेश्वर प्रहरी प्रभाग, तीनकुने प्रहरी प्रभाग र ट्राफिक कार्यलय कोटेश्वर स्थानीयको आर्थिक सहयोग र श्रमदानपछि आंशिक रूपमा सञ्चालनमा आइसकेका छन् । नरेफाँट प्रहरी प्रभाग सोमबारदेखि सञ्चालनमा आएको छ । कोटेश्वर क्षेत्रका प्रहरी कार्यालय पुनस्र्थापना समितिका सदस्य सामाजिक अभियन्ता नारायण गिरीका अनुसार आगजनी र तोडफोडबाट जलाइएका प्रहरी एकाइ यथाशक्य छिटो सञ्चालनमा आउने गरी काम भइरहेको छ ।
प्रदर्शनकारीको निसानामा परी ध्वस्त महाराजगन्ज प्रहरी वृत्त र सोहीमातहतको वसुन्धरास्थित तिलिङटार प्रहरी प्रभाग स्थानीय अगुवा, समाजसेवी र व्यवसायी एकजुट भई पुनर्निर्माणको काम तीव्र पारिएको छ ।
तिलिङटार प्रहरी प्रभागका पुनर्निर्माण समितिका संयोजक दीपक भट्टले दुवै प्रहरी युनिट पुनर्निर्माणमा आफूहरू स्वस्फूर्त रूपमा लागेको बताउनुभयो । उक्त प्रहरी प्रभाग पुरानै अवस्थामा फर्काइएको छ । संयोजक भट्टले शुव्रmबारसम्म विस्थापित प्रहरीलाई फर्काएर नियमित काम हुने सबै पूर्वाधार तयार भएको बताउनुभयो ।
आगलागीबाट ध्वस्त भएका दरबारमार्ग प्रहरी वृत्तको सफाइ गरी प्रहरी नियमित काममा फर्किएका छन् । सो प्रहरी वृत्तमा साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले दुई थान कम्प्युटर तथा एक थान स्क्यान र एक थान फोटोकपी मेसिन सहयोग गरेको छ ।