सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, भदौ ३१ गते । ४४ मेगावाट क्षमताको भोटकोशी जलविद्युत् पावर कम्पनीले जेनजीका नाममा दबाब दिएर सेयर मागेको बहाना बनाएर विद्युत् उत्पादन बन्द गरेको छ । जेनजीले जनतालाई १० प्रतिशत सेयर दिन दबाब दिएपछि उक्त आयोजनाले आफैँले विद्युत् उत्पादन बन्द गरेको हो । स्थानीय जेनजीबाट असुरक्षा हुने भन्दै सो कम्पनीका कर्मचारी आयोजना बन्द गरेर राजधानीतर्फ लागेका छन् । आयोजना बन्द गरेर कर्मचारी हिँडेपछि सेनाले आयोजनाको सुरक्षा दिएको छ । आयोजनाले असोज ३ गते वार्तामा बस्नका लागि जेनजीलाई पत्र काटेको छ । २०७१ सालमा स्थानीयलाई छ प्रतिशत सेयर दिने जिल्लाका राजनीतिक दलसँग आयोजनाले लिखित सहमति गरेको थियो तर अहिलेसम्म उक्त आयोजनाले स्थानीयलाई सेयर नदिएपछि स्थानीय प्रभावितसमेत रहेका जेनजीले स्थानीयलाई सेयर दिलाउन दबाबसाथ माग गरिरहेको छ । जेनजीले उक्त समयको छ प्रतिशत र चार प्रतिशत थप गर्नुपर्ने अडान लिएको छ ।
जेनजी ग्रुपले केही दिनअघि १० प्रतिशत निःशुल्क सेयर स्थानीयलाई दिनुपर्ने भन्दै आयोजनामा पुगेर दबाब दिएको थियो । सेयरका लागि निकै दबाब दिएपछि विद्युत् उत्पादन बन्द गरेर कर्मचारीलाई काठमाडौँ बोलाइएको आयोजनाका अधिकारी बबिन प्रधानले जानकारी दिनुभयो ।
आयोजनाका सबै कर्मचारी काठमाडौँ हिँडेपछि नेपाली सेनाले आयोजनाको सुरक्षा दिएको छ । उक्त आयोजनाले विद्युत् उत्पादन गरेको अहिले २५ वर्ष पुगेको छ । आयोजनाले निर्माणदेखि अहिलेसम्म स्थानीयलाई सेयर नदिएपछि पटक पटक सेयरका विषयमा स्थानीय र आयोजनाबिच विभिन्न समयमा विवाद हुँदै आएको छ ।
जिल्लाका राजनीतिक दलका नेतालाई मोटो रकम दिएर आयोजनाले स्थानीयलाई पेल्दै आएको जेनजी ग्रुपले आरोप लगाएको छ । उक्त आयोजनाले भोटेकोशी गाउँपालिका–२, दस किलोमा बाँध र झिर्पुमा पावरहाउस स्थापना गरेर विद्युत् उत्पादन गर्दै आएको छ ।
सो आयोजनाले सुरुमा ३६ मेगावाट र केही समयपछि नौ मेगावाट थपेर विद्युत् उत्पादन गर्दै आएको छ । २०५७ सालदेखि उक्त आयोजनाले विद्युत् उत्पादन गरेको हो । आयोजनामा पाँच प्रतिशत अमेरिकी लगानी र अन्य सेयर नेपालीको छ । अबको केही समयमा नै उक्त आयोजना नेपाल सरकारलाई हस्तान्तरण हुन लागेको छ ।