• ३१ भदौ २०८२, मङ्गलबार

खुले एक सय त्रिपन्न सहुलियत पसल

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, भदौ ३१ गते । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर सोमबारदेखि १५३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा आएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कम्पनीमार्फत ती स्थानबाट सहुलियत पसल सुरु गरिएको हो । खाद्य कम्पनीले सोमबार बिहान १० बजेदेखि एकसाथ उपत्यकासहित देशका ४५ जिल्लाका १११ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा आएको जनाएको छ । कम्पनीका सूचना अधिकारी माधव मिश्रले खाद्यबाट सञ्चालन भएका सहुलियत मूल्य पसलबाट प्रतिकेजी/प्रतिलिटरमा पाँच रुपियाँदेखि १० रुपियाँसम्म छुट दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न प्रकारका चामल, चिनी, दालमा प्रतिकेजी पाँच रुपियाँ छुटको व्यवस्था छ भने खाने तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, क्वाँटीमा प्रतिकेजी सात रुपियाँ तथा कर्णालीका विभिन्न गेडागुडी, फापर दाना, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी १० रुपियाँ छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ । 

काठमाडौँ उपत्यका थापाथली, रामशाह पथ, नक्खु र सूर्यविनायक, थापाथली, दक्षिणकाली, गोदावरी र चाँगुनारायण नगरपालिका, घुम्ती सेवासहित ४५ जिल्लाका १११ स्थानमा कम्पनीका बिक्री कक्ष छन् । 

साल्ट टे«डिङ कम्पनीले उपत्यका १४ स्थानसहित देशका ४२ स्थानमा सहुलियत मूल्य सञ्चालन गरेको जनाएको छ । पसलमार्फत प्रतिकेजीमा दुई रुपियाँदेखि १० रुपियाँसम्म छुटको व्यवस्था गरिएको कर्पोरेसनले जनाएको छ । कर्पोरेसनले चिनी प्रतिकेजीमा पाँच रुपियाँ छुट गरेर ९५ रुपियाँमा बिक्री गरेको छ भने नुनमा दुई रुपियाँ छुट गरेर प्रतिकेजी २४ रुपियाँमा बिक्री गरेको छ । कर्पोरेसनले खाने तेल, चामल, चिउरा र पिठोलगायतमा प्रतिकेजी सात रुपियाँका दरले छुट गर्ने जनाएको छ । कर्पोरेसनका अनुसार उपत्यकामा केन्द्रीय कार्यालय कालीमाटी, सतुङ्गल, ललितपुर, बालाजु, गौशाला, कपन, कौशलटार, भक्तपुर, कोटेश्वर, जावलाखेल, स्वयम्भूका बिक्री केन्द्र र तीन वटा मोबाइल भ्यानमार्फत ती वस्तु छुटमा दिन थालेको छ ।  

लुटिएका सामान फिर्ता 

खाद्य कम्पनीको लहानस्थित शाखा कार्यालयको गोदामबाट लुटपाट गरिएको खाद्यान्न फिर्ता हुन थालेको छ । भदौ २४ गतेको जेनजीको प्रदर्शनका क्रममा दिउँसो कम्पनीको गोदामबाट चामल, चिनी र जुटका बोरा लुटपाट भएकोमा केही मात्रामा फिर्ता आउन थालेको कम्पनीको लहानस्थित शाखा कार्यालयले जनाएको छ ।