• ३० भदौ २०८२, सोमबार

जितिया पर्वले मातृत्वको गहिरो भावनालाई उजागर गर्छ : उपराष्ट्रपति

blog

उपराष्ट्रपति रामसहाय प्रसाद यादव

काठमाडौँ, भदौ ३० गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जितिया पर्वले मातेत्वको गहिरो भावनालाई उजागर गर्ने बताउनुभएको छ ।

आश्विन कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाइने जितिया पर्वको सोमबार शुभकामना दिनुहुँदै उपराष्ट्रपतिले आमाहरूले कठोर निर्जला उपवास बस्दै मातृत्वको गहिरो भावनालाई उजागर गर्ने बताउनुहुँदै ‘जिवित्पुत्रिका व्रत’ को नामले चिनिने यो पर्व मातृस्नेह, धर्म, प्रकृति र संस्कृतिप्रतिको श्रद्धाको अनुपम प्रतीक रहेको जानकारी दिनुभयो ।

यो पर्वले परिवारमा एकता, सन्तानप्रतिको उत्तरदायित्व र महिलाको आत्मबललाई सशक्त बनाउँदछ । यसले आमालाई मात्र होइन, सम्पूर्ण समाजलाई सन्तानको भलाइका लागि समर्पित हुन प्रेरणा प्रदान गर्दछ ।  

‘‘जितिया पर्वका अवसरमा थारु समुदायले गर्ने ‘झमटा नाच’, मधेशी समुदायले मरुवा रोटी खाने परम्परा र पूजामा वनस्पतिजन्य सामग्रीहरुको प्रयोगसहित पर्वसंग सम्बन्धित पौराणिक कथा श्रवण गर्ने जस्ता कार्यले हाम्रो देश र समाजको विविधता र मौलिकता झल्काउँदछ ।,’’ उपराष्ट्रपतिद्वारा जारी शुभकामनामा उल्लेख छ, ‘‘जितियामा प्रयोग गरिने केराको पात, घिरौला, तोरीको पिना, च्युरा, दही, फलफूल आदिले प्रकृतिप्रतिको सम्मान र जैविक जीवनशैलीको सन्देश पनि बोकेको छ । यी सामग्रीहरूले प्रकृतिप्रतिको श्रद्धा र जीवनचक्रको सम्मान दर्शाउँदै स्थानीय उत्पादनको संरक्षण र पर्यावरणमैत्री संस्कृतिको प्रवद्र्धनमा सघाउँदछ ।’’   

सनातन धर्मको गहिरो आस्था र व्रत–पूजाको परम्परालाई यो पर्वले जीवन्त राख्दै पुस्तान्तरणमा सहयोग पुग्दछ । निर्जला उपवास, प्राकृतिक सामग्रीको प्रयोग र पौराणिक कथासँग जोडिएको श्रद्धा यस पर्वको आध्यात्मिक गहिराइ हो । यसले धर्म, संस्कृति, प्रकृति र समाजलाई एकै सूत्रमा बाँध्ने अद्भुत शक्ति समेत बोकेको छ ।

मातृत्वको सम्मान र मातृस्नेहको अद्भुत प्रतीकका रुपमा रहेको जितिया पर्वले महिलाको धार्मिक, सांस्कृतिक र सामाजिक योगदानलाई उजागर गर्दै धर्म र संस्कृतिको संरक्षणमा उनीहरूको भूमिका पुष्टि गर्दछ । उहाँले यो पर्वले व्यक्तिमा असल संस्कार, व्यवहार र सामाजिकताको विकासमा योगदान पुर्याउने विश्वासका साथ पुनः सम्पूर्ण नेपाली समुदायमा सुख, समृद्धि र सन्तानको कल्याणको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।