गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ ३० गते । सरकारले अनिवार्य दायित्वका भुक्तानी सुरु गरेको छ । गत बिहीबारदेखि भुक्तानी प्रणाली बन्द भएकोमा आइतबारदेखि अनिवार्य किसिमका भुक्तानी दिन सुरु गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी ओमप्रसाद रिजालका अनुसार आइतबारदेखि तलब भत्ता, इन्धनलगायतका अनिवार्य दायित्वको भुक्तानी सुरु गरिएको हो । “अनिवार्य दायित्व शीर्षकमा कार्यालयले भुक्तानी सुरु गरेको छ,” उहाँले भन्नुभयो ।
जेनजी प्रदर्शनका कारण बढ्न सक्ने खर्च दायित्वलाई ध्यानमा राख्दै कार्यालयले बिहीबारदेखि खर्च प्रणाली नै बन्द गरेको थियो । प्रदर्शन साम्य भइसकेको र नयाँ सरकार पनि गठन भइसकेको अवस्थामा कार्यालयले अनिवार्य दायित्वका भुक्तानी सुरु गरेको जनाएको छ । आइतबार विशेष गरी चालुतर्फका दायित्वमा भुक्तानी भएको सूचना अधिकारी रिजालले जानकारी दिनुभयो । यसबाहेक विकास आयोजनाका भुक्तानी पनि भएको उहाँले बताउनुभयो ।
विकास आयोजनाको समेत भुक्तानी हुँदा निर्माण व्यवसायीले मजदुरको भुक्तानी पनि नियमित गर्न सक्ने अवस्था बनेको छ । यसबाहेक सरकारी कर्मचारीको तलब भत्ता पनि आइतबार नै भुक्तानी भएको छ ।