• ३० भदौ २०८२, सोमबार

बढ्न थाल्यो व्यापारिक चहलपहल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ३० गते । नयाँ सडक, असन, भोटाहिटी, इन्द्रचोकमा दसैँको किनमेल गर्नेको भिड लाग्न थालेको छ । जेनजी आन्दोलनले बन्द रहेका पसल शनिबारदेखि नै खुल्न थालेका छन् । जेनजी पुस्ताले गरेको आन्दोलनका कारण दसैँ नजिकिँदै गर्दा उद्योगी तथा होलसेल व्यवसायी प्रत्यक्ष मारमा परेका थिए । बुधबारदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा कफ्र्यु र निषेधाज्ञा खुकुलो पारिए पनि शनिबारसम्म पनि उद्योग र होलसेल पसल खासै खुल्न सकेका थिएनन् । दसैँ नजिकिँदै गर्दा व्यापार हुने सिजन भए पनि पाँच दिनदेखि पसल खोल्न नपाउँदा मारमा परेको व्यवसायीको भनाइ छ । 

आगामी असोज ६ देखि दसैँ सुरु हुँदै छ । दसैँलक्षित ल्याइएका सामान बिक्री नभएर गोदाममै थन्किएका छन् । राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवालले जेनजीको आन्दोलनले पसल बन्द हुँदा व्यवसायीलाई ठुलो असर परेको जानकारी दिनुभयो ।

दसैँमा विशेष गरी लत्ताकपडा, जुत्ताचप्पल बढी बिक्री हुने गरेको जानकारी दिँदै कटुवालले भन्नुभयो, “धेरै सामान काठमाडौँबाहिर पठाउनुपर्ने हुन्छ, सार्वजनिक यातायात नचलेकाले गोदाममै रहेका छन् ।” 

दसैँ वर्षभरिकै धेरै व्यापार हुने सिजन भए पनि त्यसैको मुखमा पसल बन्द गर्नुपर्दा ठुलो असर परेको उहाँको भनाइ छ । दसैँमा किनमेल धेरै हुने हुँदा व्यवसायीले दसैँलाई नै भनेर ठुलो परिमाणमा सामान ल्याउने गरेका हुन्छन् । 

राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठ दसैँका बेला बिक्री गर्न नपाए जाडो सुरु भई सामान बेच्न नसकिने बताउनुहुन्छ । 

यस्तै समस्या सुनचाँदी व्यवसायीको पनि छ । सुरक्षाको उच्च जोखिम भएकाले पनि पसल खोल्न नसकिएको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले बताउनुभयो ।