• २९ भदौ २०८२, आइतबार

निजामती सेवा दिवस : गुल्मीमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता, कर्मचारी विजयी

blog

रमेश विश्वकर्मा
गुल्मी, भदौ २१ गते ।
निजामती सेवा दिवस–२०८२ को पूर्वसन्ध्यामा गुल्मीको सदरमुकाम तम्घासमा कर्मचारी र पत्रकारबिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरिएको छ । यस जिल्लामा कार्यरत कर्मचारी र नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीबिच शुक्रबार भएको खेलमा कर्मचारी टोली विजयी बनेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा कर्मचारी टोलीले पत्रकार महासंघलाई ३–१ सेटले पराजित गरेको थियो । पहिलो सेटमा २५–१८ को सहज जित हात पारेको कर्मचारी टोली दोस्रो सेटमा भने १४–२५ को अन्तरले पराजित भएको थियो । तर तेस्रो र चौथो सेटमा क्रमशः २५–१६ र २५–२२ को नतिजा निकाल्दै कर्मचारीले अन्ततः समग्रमा विजयी प्राप्त गरेको खेलका रेफ्री बाबुराम सुनारले जानकारी दिनुभयो ।

मैत्रीपूर्ण प्रतियोगिताको उद्घाटन गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले सहजीकरण गर्नुभएको थियो। नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष अनिल खत्री, पूर्वअध्यक्ष जनार्दन घिमिरे, पत्रकार महासंघका सदस्य, कर्मचारी तथा सरोकारवालाको उपस्थिति रहेको कार्यक्रममा पत्रकार महासंघलाई एक थान भलिबल हस्तान्तरण समेत गरिएको थियो ।

मैत्रीपूर्ण भलिबल प्रतियोगितामा सहभागी हुनका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीलाई तम्घासस्थित शुभलक्ष्मी स्वास्थ सेवा प्रालिले जर्सी सहयोग गरेको थियो । यस प्रतियोगिताले कर्मचारी र पत्रकारबिच आपसी मित्रता, सहकार्य र समन्वयलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। उपस्थित कर्मचारी र पत्रकारले खेलकुदले आपसी सम्बन्ध सुदृढ गर्ने मात्र नभई स्वस्थ जीवनशैली कायम राख्न समेत योगदान पुर्‍याउने धारणा राखेका थिए ।