• २० भदौ २०८२, शुक्रबार

निजामती सेवा दिवस : गुल्मीमा विविध कार्यक्रम गरिने

blog

रमेश विश्वकर्मा 
गुल्मी, भदौ २० गते ।
गुल्मीमा निजामती सेवा दिवस–२०८२ तीन दिनसम्म विविध कार्यक्रमसहित मनाइने भएको छ । यस जिल्लामा ‘व्यावसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने मुख्य नारासहित आज (शुक्रबार)देखि भदौ २२ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी निजामती सेवा दिवस–२०८२ मनाउन लागिएको हो ।

निजामती सेवा दिवसलाई भव्य रुपमा मनाउन लागिएको हुँदा जिल्लास्थित संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीलाई सहभागिताका लागि अनुरोध गरिएको छ । जिल्लास्तरीय निजामती सेवा दिवस मूल समारोह समितिले बिरामीलाई फलफूल वितरण, सरसफाई र विभिन्न खेलकुद प्रतियोगितासहित प्रभातफेरीसँगै औपचारिक मञ्चको कार्यक्रम गरिने भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले जानकारी दिनुभयो ।

प्रशासकीय अधिकृत फुल्लेलका अनुसार आज बिहान ८ बजे गुल्मी अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण, जिल्ला समन्वय समितिको कार्यालय प्राङ्गणमा ८ः३० बजे महिला कर्मचारीबीच कुर्सी दौड र ९ बजे कर्मचारीबीच घैंटोफोर, चिदिचौरको तल रहेको स्काउट भवनको भलिबल कोर्टमा दिउँसो ३ः३० बजेदेखि गुल्मी जिल्लामा कार्यरत पत्रकार र कर्मचारी मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने भएको छ ।

त्यस्तै, भदौ २० र २१ गते जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा कर्मचारीबिच ब्याडमिन्टन प्रतियोगिता हुनेछ । २०, २१ र २२ गते कार्यालय परिसर सरसफाई तथा सौन्दर्यीकरण, २२ गते बिहान ७ बजे जिल्ला प्रशासन कार्यालय अगाडीदेखि प्रभातफेरी र ७ः३० बजे बालमन्दिर सभाहलमा मञ्चको औपचारिक कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो ।

निजामती सेवा दिवसलाई भव्य र सभ्य रुपमा सफल बनाउन तीन सदस्यीय कार्यक्रम उपसमिति गठन गरिएको छ । जिल्ला समन्वय अधिकारी होमनाथ काफ्ले कार्यक्रम उपसमिति संयोजक रहनुभएको छ । सदस्यहरुमा तारानाथ फुल्लेल र खिम बहादुर अधिकारी रहनुभएको छ । त्यस्तै, ब्याडमिन्टन संयोजक कृष्ण प्रसाद पन्थी, कुर्सी दौड प्रतियोगिता संयोजक डिल बहादुर थापा र भलिबल खेल संयोजक डोर बहादुर विक हुनुहुन्छ ।