• २० भदौ २०८२, शुक्रबार

बेपत्ताका श्रीमतीलाई जीवन निर्वाह भत्ता

blog

गुलरिया समाचारदाता

गुलरिया (बर्दिया), भदौ २० गते ।  बर्दियाको ठाकुरबाबा नगरपालिकाले १० बर्से द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवननिर्वाह भत्ता दिने भएको छ । नगरपालिकाले उनीहरूका श्रीमतीलाई जीवनयापन गर्न सहज होस् भनेर मासिक दुई हजार पाँच रुपियाँ जीवननिर्वाह भत्ता दिन थालेको हो । द्वन्द्वमा सहिद भएका व्यक्तिका श्रीमतीले सरकारबाट एकल महिला भत्ता पाउने तर बेपत्ता पारिएका व्यक्तिका श्रीमतीले एकल महिला भत्ता नपाउने हुँदा नगरपालिकाले नै कार्यविधि बनाई जीवननिर्वाह भत्ता दिन थालेको हो । 

ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिना भट्टराईले हाल आठ जना महिलालाई भत्ता दिन सुरु गरिएको बताउनुभयो । तीन वर्षयता राजापुर नगरपालिकाले पनि बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई मासिक दुई हजार जीवननिर्वाह भत्ता दिँदै आएको छ । बर्दियाका आठ वटा पालिकामध्ये दुई वटा पालिकाले बेपत्ताका श्रीमतीलाई जीवननिर्वाह भत्ता दिन थालेका हुन् । ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले सरकारले बेपत्ताका श्रीमतीलाई जीवननिर्वाहका लागि भत्ताको व्यवस्था नगरेको हुनाले नगरपालिका आफैँले दिनु परेको बताउनुभयो । सरकारले  द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई जीविकोपार्जनका लागि नयाँ कार्यक्रम र स्पष्ट नीति बनाउनुपर्ने उहाँको भनाइ छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अनुसार बर्दियामा २६१ जना व्यक्ति बेपत्ता पारिएको भन्दै परिवारले उजुरी दिएका छन् ।