• २० भदौ २०८२, शुक्रबार

‘दोस्रो विश्वयुद्ध अन्त्य गर्न अमेरिकाको निर्णायक भूमिका’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २० गते । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो विश्वयुद्ध अन्त्यका लागि अमेरिकाले निर्णायक भूमिका खेलेको बताउनुभएको छ । उहाँले अमेरिकाको भूमिकालाई चीनले सोमबार गरेको सैन्य परेडमा नदेखाइएकोप्रति भने गुनासो गर्नुभएको छ । ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारसँगको कुराकानीमा ट्रम्पले दोस्रो विश्वयुद्धमा जापानलाई हराउन अमेरिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको भए पनि चीनमा आयोजित समारोहमा त्यसबारे उल्लेख नै गरिएन भन्नुभयो । 

“मलाई त्यो समारोह सुन्दर र प्रभावशाली पनि लाग्यो तर चीनलाई मद्दत गर्न अमेरिकाले ठुलो योगदान दिएको थियो । कम्तीमा राष्ट्रपतिको भाषणमा त्यसको उल्लेख हुनुपथ्र्यो,” ट्रम्पले भन्नुभयो । दोस्रो विश्वयुद्ध अन्त्य भएको ८० वर्ष पुगेको उपलक्ष्यमा चीनले सोमबार भव्य सैन्य परेड आयोजना गरेको थियो । 

अत्याधुनिक र शक्तिशाली हतियार प्रदर्शन गरेर विश्वलाई चीनको शक्ति कति छ भन्ने देखाउन उपयोग गरेको पनि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । समारोहमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनसँगै उभिएर चीनका राष्ट्रपति सी चिनफिङले बेइजिङस्थित तिआनमेन स्क्वायरमा ५० हजारभन्दा बढी दर्शकबिच सम्बोधन गर्नुभएको थियो । 

सन् १९३७ मा जापानले चीनमाथि आक्रमण गरेको दुई वर्षपछि द्वितीय विश्वयुद्ध सुरु भएको थियो । सन् १९४१ मा अमेरिका युद्धमा प्रवेश गरी चीनलाई मद्दत गरेको र १९४५ मा जापानलाई पराजित गराउन निर्णायक भूमिका निर्वाह गरेको थियो । अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेपछि जापानले आत्मसमर्पण गरेको थियो ।

राष्ट्रपति सीले आफ्नो सम्बोधनमा चिनियाँ जनतालाई समर्थन र सहयोग गर्ने विदेशी सरकार र अन्तर्राष्ट्रिय मित्रहरूप्रति आभार व्यक्त गरे पनि अमेरिकाको भूमिकाबारे विस्तृत उल्लेख गर्नुभएन ।