• १९ भदौ २०८२, बिहिबार

विकासनिर्माणमा तदारुकता दिन निर्देशन

blog

कोशी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयद्वारा विराटनगरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै मुख्य सचिव एकनारायण अर्याल ।

मोरङ समाचारदाता

विराटनगर, भदौ १९ गते  । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले विकास निर्माणका कार्य समयमा सम्पन्न गराउन तदारुकता दिन प्रदेश सचिवलाई  निर्देशन दिनुभएको छ । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयद्वारा विराटनगरमा आयोजित सङ्घ, प्रदेश र स्थानीय तहका शासकीय सवाल विषयक अन्तव्रिर्mयामा उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्ने  विकास निर्माणलाई आवश्यक अनुमगन गरी समयमा सम्पन्न गराउनुहोस् ।” 

उहाँले साधारण खर्च प्रत्येक वर्ष तीन प्रतिशतले वृद्धि भइरहेकोमा चिन्ता व्यक्त गर्दै यसले जनताको आय वृद्धिमा सहयोग नपुग्ने भएकोले मितव्ययी बन्न पनि सुझाउनुभयो । प्रमुख सचिव अर्यालले नागरिकलाई नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र र राहदानी प्रदान जस्ता सेवा सहज एवं सरल रूपमा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।  राजस्व चुहावट नियन्त्रण, लागुऔषध नियन्त्रण गर्ने कार्यमा कानुनसम्मत रूपमा अगाडि बढ्न पनि उहाँले सुझाव दिनुभयो । 

उहाँले भारतको बथनाहाबाट विराटनगरको कटहरीसम्म कार्गो रेल सञ्चालनमा आएको राजनीतिक अवरोध समाधानमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्य सचिव अर्यालले प्रहरी भनेको विकासको सहयात्री भएको हुनाले विकास निर्माणका कार्यमा आवश्यक सहजीकरण गरिदिन प्रहरी प्रशासनलाई पनि निर्देशन गर्नुभयो । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले घरेलु मदिरा ब्रान्डिङ गर्न ऐन कानुन संशोधन गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले कृषि उपज भारत निकासीका लागि प्रदेशको खाद्य प्रयोगशालामा कर्मचारीको अभाव रहेको  उदाहरण प्रस्तुत गर्दै  आवश्यकता अनुसारको कर्मचारी नियुक्त गर्न सुझाव दिनुभयो ।

कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेलले तीन तहका सरकारबिच  समन्वय कायम गरी कार्य गर्दै आएको बताउनुभयो । सो अवसरमा मुख्यमन्त्री कार्यालयका सचिव एकदेव अधिकारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्य, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठ, आन्तरिक राजस्व कार्यालयका विराटनगरका प्रमुख केशवकुमार उप्रेतीलगायतले आफ्नो कार्यालयले गरेका कार्य विवरण, समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।