• १९ भदौ २०८२, बिहिबार

बाटोमै भेटिन्छ हिउँचितुवा

blog

मुक्तिनाथ समाचारदाता

मुक्तिनाथ (मुस्ताङ), भदौ १९ गते । उपल्लो मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिकामा कर्माछिरिङ गुरुङले आफ्नो मोबाइलबाट हिउँचितुवाको तस्बिर कैद गरेर सामाजिक सञ्जालमा हाल्नुभयो । मानिसको नजरमा बिरलै देखिने हिउँचितुवा चरन क्षेत्रमा आफ्नो मुख्य आहारा नाउर र हिमाली फ्याउ मुसो नभेटेपछि बस्तीमा पशुचौपाया खान आउने गरेको छ । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोम र ल्होमन्थाङका प्रतिनिधिसहित उपल्लो मुस्ताङवासीले पटक पटक प्रत्यक्ष देखेका छन् । गत वर्षको फागुन ९ गते वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, समरमा च्याङ्ग्राको खोरमा पसेको हिउँचितुवाको उद्धार गरी प्राकृतिक वासस्थानमा छोडिएको थियो । नेपालमै पहिलो पटक हिउँचितुवालाई खोरबाट उद्धार गरिएको एक्यापको दाबी छ ।  

नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवालाई स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । गत साउन २५ गते बेलुका करिब ६ बजेको समयमा जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका–२, मार्फादेखि केही तल मोटरबाटोनजिकै पहाडी क्षेत्रमा पाइने चितुवा देखियो ।  गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनको खबरलगत्तै पुगेको टोलीले चितुवालाई भेट्न सकेनन् । 

सडकनजिकै पानीको मुहानमा भेटिएको चितुवाले बस्ती वा गोठमा रहेका पशुचौपायालाई हानि नोक्सानी गराउन सक्नेतर्फ आसपासका बासिन्दालाई सचेत बनाइएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले बताउनुभयो । तल्लो मुस्ताङको थासाङ, घरपझोङ गाउँपालिकाको वनजङ्गलमा पहाडी जिल्लामा पाइने चितुवा भेटिन्छ । पछिल्लो समय जलवायु परिवर्तन, डढेलो र आहाराको अभावका कारण हिउँचितुवा र चितुवाको वासस्थान खप्टिएको अनुमान गरिएको छ ।

दुवै प्रकारका चितुवाको वासस्थान, आनीबानी र उपस्थितिबारे बुझ्न थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको उच्चलेक, खर्क तथा वनजङ्गलमा हिउँचितुवा, चितुवा र आहारा प्रजातिको अध्ययन अनुगमनका लागि क्यामरासमेत जडान गरिएको एक्याप जोमसोमका प्रमुख गुप्ताले बताउनुभयो । मुक्तिनाथ, झोङ, लुप्रा, छुसाङ, समर, तेताङ, बाजुङ, जोमसोम लेक, मार्फा बतासे लेकका साथै छिमेकी जिल्ला म्याग्दीसँग सिमाना जोडिएको घासाको उच्च हिमाली क्षेत्रमा पाँच/पाँच किलोमिटरको दुरीमा क्यामरा राखिएकोमा अहिले तथ्याङ्क अध्ययन भइरहेको एक्याप जोमसोमका रेन्जर दीपक ओलीले बताउनुभयो । समुद्री सतहको तीन हजार मिटरदेखि चार हजार छ सय मिटरको उचाइसम्म राखिएको क्यामराले हिउँचितुवा र चितुवाको वासस्थान, आहारा प्रजातिको अवस्थालाई प्राथमिकता दिइएको छ । 

उपल्लो मुस्ताङमा हिउँचितुवा पाइने सम्भावित क्षेत्रहरू ल्होमन्थाङ र दामोदर कुण्डलाई क्षेत्रमा समेत यस अगाडि पाँच÷पाँच वर्गमिटरको दुरीमा ४४ ग्रिड बिछ्याइएर अध्ययन गरिएको थियो । एक ग्रिडमा दुई वटा क्यामरा जडान गरिएकामा हिउँचितुवा साथै आहारा प्रजाति नाउर र अन्य ल्होमन्थाङ तथा दुर्लभ स्तनधारी वन्यजन्तुसमेत कैद गरिएको एक्याप ल्होमन्थाङका प्रमुख उमेश पौडेलले बताउनुभयो ।

 प्रमुख पौडेलले भन्नुभयो, “वयस्क हिउँचितुवा आहाराको खोजीमा भौँतारिन्छन्, क्यामरा ट्यापिङमा कैद भएका हिउँचितुवाको वासस्थान सुरक्षित गर्नु प्रमुख चुनौती हो ।” हिउँचितुवा देखिएमा तत्काल खबर गर्न र हानि नपु¥याउनसमेत प्रमुख पौडेलले अनुरोध गर्नुभयो । लजालु स्वभावको हुने हिउँचितुवाको समुद्री सतहको तीन हजार पाँच सय मिटरदेखि पाँच हजार पाँच सय मिटरको अग्लो उचाइमा मुख्य वासस्थान मानिन्छ ।