लमजुङ समाचारदाता
लमजुङ, भदौ १९ गते । लमजुङको क्व्होलासोथार गाउँपालिकाले पोखरा आसपास बस्दै आएका पालिकाभित्रका नागरिकलाई सहज सेवा दिन एकीकृत घुम्ती शिविर सुरु गरेको छ । गाउँपालिकाले आइतबारदेखि पालिका अन्तर्गतका नागरिकलाई लक्षित गरी पोखरामा एकीकृत घुम्ती शिविर सुरु गरेको हो ।
गाउँपालिकाले प्रत्येक वडाका नागरिकलाई सहज हुने गरी विभिन्न सेवासहितको घुम्ती शिविर आयोजना गरेको जनाएको छ । पोखरास्थित पसगाउँ समाज घरमा सञ्चालित शिविरमा गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवा उपलब्ध गराइएको गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङले जानकारी दिनुभयो । शिविरमा सामाजिक सुरक्षाभत्ता दर्ता तथा नवीकरण सेवा, मालपोत तथा भूमि कर सङ्कलन सेवा, पञ्जीकरणसम्बन्धी सेवा र अन्य वडा कार्यालयबाट प्रदान गरिने सेवा उपलब्ध गराएको हो ।
गाउँपालिकाले सेवाग्राहीबिच भिडभाड नहोस् भन्ने उद्देश्यले वडा अनुसार सेवाग्राहीका लागि समय तालिका तय गरेको छ । स्थायी घर क्व्होलासोथार भई हाल पोखरा र आसपास क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यसहित घरदैलोमै एकीकृत घुम्ती शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष सूर्य गुरुङले बताउनुभयो । घुम्ती शिविरका लागि गाउँपालिकाले सम्बन्धित शाखा एवं वडाका सम्बन्धित कर्मचारीलाई खटाएको छ । नागरिकको सहजताका लागि सम्बन्धित शाखा प्रमुखसहित जनप्रतिनिधिको पनि सहभागिता रहेको गाउँपालिकाले जनाएको छ ।
भौगोलिक विकटताका कारण सेवा प्रवाहमा समस्या भोग्दै आएका सर्वसाधारणका लागि घुम्ती शिविर लाभदायक हुने नागरिकको विश्वास छ । गाउँपालिकाले यसअघि पनि एकीकृत घुम्ती शिविरबाहेक नागरिकका सहजताका लागि विभिन्न सेवा गाउँटोलमै सञ्चालन गर्दै आएको छ ।
स्थानीय सरकारले ठुला बजेटका विकास निर्माण गर्नभन्दा सानो तर नागरिकसँग प्रत्यक्ष जोडिएका समस्यालाई सम्बोधन गर्नसके सङ्घीयताको मर्म अनुसार नागरिकले घर घरमै सिंहदरबारको अनुभूति गर्न सक्ने जनप्रतिनिधिको विश्वास रहेको छ ।