प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), भदौ १९ गते । रौतहटको चन्द्रपुर नगरपालिकाले बालश्रममुक्त पालिका घोषणा गर्ने अभियानलाई तीव्र रुपमा अगाडि बढाएको छ । आर्थिक वर्ष २०८२/०८३ भित्र बालश्रममुक्त नगरपालिका घोषणा गर्ने नीति अनुसार चन्द्रपुरका विभिन्न होटल तथा ग्यारेजहरूमा अनुगमन गरी बालश्रमिकहरुको खोजी सुरु गरिएको चन्द्रपुर नगरपालिकाका नगर उपप्रमुख जयमाला चौधरीले जानकारी दिनुभयो । होटल तथा ग्यारेजहरूमा फेला परेको बालश्रमिकलाई घर पठाउने कार्य अगाडि बढाइएको उहाँले बताउनुभयो ।
१८ वर्ष मुनिका बालबालिकालाई कानुन विपरित चन्द्रपुरका बिभिन्न होटेल तथा ग्यारेजहरुमा काममा लगाइएकाले पहिलो प्राथमिकतामा होटेल तथा ग्यारेजहरुबाट बालश्रमिक हटाउने अभियान थालिएको नगर स्तरिय बाल अधिकार समिति सदस्य तथा मनोसामाजिक परामर्शकर्ता सिर्जना तिमल्सिनाले जानकारी दिनुभयो ।
बारम्बारको अनुगमनपछि होटेल तथा ग्यारेजहरुमा पहिलाको तुलनामा बालश्रमिक घटेको उहाँले बताउनु भयो ।
चन्द्रपुर नगरपालिका ४ मा गठित वडास्तरीय बालअधिकार समिति, नगरस्तरीय बालअधिकार समिति तथा छोरी संस्थाको सहकार्यमा विभिन्न होटेल तथा ग्यारेजहरुमा अनुगमन गर्दा १८ वर्ष मुनिका बालबालिकालाई पनि श्रममा लगाइएको तथा दैनिक १८ घण्टासम्म काम गराउने गरेको अवस्था रहेको मनोसामाजिक परामर्शकर्ता तिमल्सिनाले बताउनुभयो ।
त्यस्तै बालबालिकालाई सडकमा माग्न पठाउने अभिभावकहरुलाई यसबाट हुने सम्भावित जोखिम तथा अधिकारबाट बन्चित हुने र त्यसबाट हुने दीर्घकालीन असर बारे जानकारि गराउँदै आगामी दिनमा परिवारबाट आफ्ना बालबालिकाको लागि पोषण अनि शिक्षाको अधिकारबाट बन्चित नगराउने प्रतिबद्धता गराउने गरेको उहाँले बताउनुभयो ।
बालसंरक्षणको क्षेत्रमा चन्द्रपुर नगरपालिकाको वडा नं. ४, ७, ९ र १० मा काम गर्दै आएको छोरी संस्थाले बालश्रमिकलाइ श्रम मुक्त गराएर बिद्यालयमा पठनपाठनमा सक्रिय पार्न ड्रेस, कापी, कलम समेत उपलब्ध गराउने गरेको चन्द्रपुर नगरपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख चन्द्रकला बरालले जानकारी दिनुभयो ।
बालश्रम अन्त्य गर्दै चन्द्रपुर नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउनको लागि नगरपालिकाले प्रत्येक वडामा बालाधिकार समिति गठन गरेको र यसलाई सक्रिय पारिएको उहाँले बताउनुभयो ।