• १९ भदौ २०८२, बिहिबार

निर्माणस्थलबाट गायब भयो ६५ बण्डल रड

blog

निर्माणका लागि राखिएका फलामे रड ।

बोमलाल गिरी

नवलपुर, भदौ १८ गते । नवलपुरको कावासोतीमा निर्माणाधीन नमुना सदरमुकामबाट ६५ बण्डल फलामको रड गायब भएको छ । रौतहटको चौधरी कन्ट्रक्सनले भवन निर्माण गरिरहेको स्थलबाट फलामको रड गायब भएको हो ।

कन्ट्रक्सनका ठेकेदार उपेन्द्र चौधरीले आफू नभएको बेलामा आफ्नै कर्मचारीले रड हिनामिना गरेको आरोप लगाउनुभएको छ । ‘‘म तीन–चार महिनाका लागि जुम्लाका इन्जिनियर सुवास शाहीलाई जिम्मेवारी दिएर भारत गएको थिएँ, त्यही मौकामा ६५ बण्डल रड गायब भएको छ’’ चौधरीले भन्नुभयो, ‘‘अहिले शाही फरार छन् ।’’

शाहीले कावासोतीका केही हार्डवेयर पसलहरुमा रड बेचेको हुन सक्ने भन्दै अनुसन्धान गरिदिन आग्रह गर्नुभएको छ । तर उहाँले रड हराएको बारेमा अनुसन्धान गर्न कतै निवेदन भने दिनुभएको छैन । 

नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले यस विषयमा कार्यालयमा उजुरी नपरेकाले कुनै जानकारी नभएको बताउनुभयो । ‘‘बरु निर्माणको काम सुस्त भयो भनेर सडक आयोजनालाई ताकेता गर्न भनेका छौं, रड हराएको बारेमा भने कुनै गुनासो आएको छैन’’ प्रजिअ पाण्डेले भन्नुभयो ।

चौधरी कन्स्ट्रक्सन प्रा.लि. रौतहट र समानान्तर बुद्ध हिमाली जे.भि. पुरानो बानेश्वर काठमाडौंले पहिलो चरणमा ५ अर्ब २१ करोडमा सदरमुकाममा भवन निर्माणको ठेक्का लिएका छन् । चौधरी कन्स्ट्रक्सनले जिल्ला प्रशासन कार्यालय रहने भवनसहित २ वटा एकीकृत भवन बनाइरहेको छ । 

दुईवटा एकीकृत भवनमा चारवटा कार्यालय रहनेछन् । जसका लागि ३४ करोडमा ठेक्का दिइएको हो । पहिलो चरणको निर्माणको काम साढे २ वर्षभित्र सक्नेगरी सम्झौता भएको छ ।

सङ्घीय सरकार अन्तर्गतको जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला समन्वय समिति, सशस्त्र प्रहरी, कोष तथा लेखा नियन्त्रण कार्यालय, सभा हल र ४ वटा एकीकृत भवनको काम अघि बढिरहेको छ । 

देशकै नमुना भनिएको सदरमुकाम स्थलमा सङ्घीय सरकारका २२ र प्रदेश अन्तर्गतका ११ कार्यालय रहनेछन् । त्यस अतिरिक्त कावासोती नगरपालिकाको भवन, २५ हजार दर्शक अट्ने फुटबल रङ्गशाला र १५ हजार दर्शक क्षमताको क्रिकेट मैदान पनि बनाइनेछ । नमुना सदरमुकामको डिपिआर बमोजिम सबै काम सक्न कुल १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रुपियाँ लाग्ने अनुमान गरिएको छ ।