• ११ भदौ २०८२, बुधबार

युथ, क्याडेट तथा महिला बुद्धिचाल हुने

blog

काठमाडौँ, भदौ ११ गते । नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा यही भदौ १३ र १४ गते दोस्रो नेसनल फ्रिडम एसियन चेस इनिसियटिभ युथ, क्याडेट तथा महिला च्याम्पियनसिप हुने भएको छ ।

पुरुष तथा महिला दुबै विधाका गरी ६ फरक उमेर समूहमा हुने प्रतियोगितामा १८, १६, १४, १२, १० र ८ वर्ष मुनिका खेलाडीले सहभागी जनाउने छन् ।

बुद्धिचालको ट्यालेन्ट हन्टको रूपमा काठमाडाैँमा सञ्चालन हुने यस प्रतियोगितामा देशभरका पाँच सय भन्दाबछि खेलाडीको सहभागिता रहने छ । 

प्रतियोगितामा प्रत्येक समूहका विजेताले उपाधिसहित जनही १० हजार, उपविजेताले सात हजार र तेस्रो हुनेले चार हजार रुपियाँ पुरस्कार पाउने छन् ।चौथो देखि १०औँ स्थानमा रहने खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने बुद्धिचाल महासङ्घले जनाएको छ । 

यस प्रतियोगिताका लागि एफएसिआईका प्रोजेक्ट प्रमुख मिस जजिरा इस्कामदिरोभ र काजकिस्तान चेस फेडेरेसनका प्रथम उपाध्यक्ष जिएम दर्मेन सद्भाकासोभ बिहीबार नेपाल आउनुहुने छ । 

नेपालको बुद्धिचाल खेल विकासमा टेवा पुर्‍याउने हेतुले विश्व बुद्धिचाल महासङ्घ व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक तथा सुपर जिएम भिक्टोर बोलोगन पनि शुक्रबार नेपाल आउने नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जनले जानकारी दिनुभयो । बोलोगनको नेपाल आगमनले नेपलको बुद्धिचाल विकासमा खास अर्थ रहने महर्जनले बताउनुभयो । 

यस्तै नेपालमा बुद्धिचाल खेलको विकासका लागि काजकिस्तान चेस सङ्घसँग महासङ्घका महासचिव धर्मबहादुर लामाले समन्वय गर्नुभएको हो ।

दोस्रो नेसनल फ्रिडम एसियन चेस इनिसिएटिभ्स प्रतियोगिता सञ्चालन गर्न लाग्ने १० लाख रुपियाँ खर्च मध्ये कजाकिस्तान चेस फेडेरेसनले नगद पुरस्कार सहयोग गरेको छ ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले समेत आर्थिक सहयोग गर्ने भएको छ। ६ विधाका खेल सञ्चालनका लागि नेपाल बुद्धिचाल महासङ्घ र काजाकिस्तान चेस महासङघबिच हस्क्षतार समेत भएको छ ।

नेपाली खेलाडीलाई प्रशिक्षण दिन काजाकिस्तानका इन्टरनेसनल मास्टर बख्तियार आस्कारोभ मङ्गलबार नेपाल आइपुग्नुभएको छ । १५ दिनसम्म चल्ने प्रशिक्षणमा नेपालका २० जना राष्ट्रिय खेलाडीको सहभागिता रहने छ ।