दैलेख समाचारदाता
दैलेख, भदौ ११ गते । हुम्लामा सङ्कलित जडीबुटी लोड भएको उल्लेख गरी पठाइएको कन्टेनरमा करिब ४० हजार थान विद्युतीय चुरोट (भेप) बरामद गरिएको छ । डिभिजन वन कार्यालय सिमकोट हुम्लाले रसिद काटेर जडीबुटी उल्लेख गरी पठाएको कन्टेनरबाट राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखले कन्टेनर नियन्त्रणमा लिएर कोहलपुर पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख गणेशबहादुर बरालले अवैध सामान ल्याइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय राकम कर्णालीबाट प्रहरी नायब निरीक्षक छत्रबहादुर ढकालको कमान्डमा पाँच जनाको प्रहरी टोली र सुरक्षा बेस क्याम्प डावबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले गाडी नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि भन्दै सिधै राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाएको बताउनुभयो ।
डिभिजन वन कार्यालय हुम्लाका निमित्त डिभिजनल वन अधिकृत लोकजङ्ग शाहीले कैलाश ईश्वर जडीबुटी खरिदबिक्री केन्द्रका सञ्चालक कुन्साङ दोर्जी लामाका नाममा पाँच हजार सेतो चिनी प्रतिकेजी २५ रुपियाँ उल्लेख गरी एक लाख २५ हजार रुपियाँको राजस्व रसिद काटेर कन्टेनरलाई छुट पुर्जी दिएको बताउनुभयो । उहाँले पक्राउ गरिएको कन्टेनरमा सबडिभिजन वन कार्यालय र प्रहरीले राखेको मुचुल्काको अवस्था भेरिफिकेसन नगरिएको जनाउनुभयो । उहाँले भन्नुभयो, “डिभिजन वन कार्यालयले सबडिभिजन र प्रहरीले गरेको मुचुल्काको प्रतिवेदन नहेरी अनावश्यक कार्यालयलाई दोषी बनाइएको छ, प्रहरी र वनले मुचुल्का गरेपछि आफूहरूलाई कन्टेनर हिँडे नहिँडेको जानकारी भएन ।” जडीबुटी व्यवसायको आवरणमा गैरकानुनी धन्दा चलाएका लामाले कैलाश–ईश्वर जडीबुटी खरिदबिक्री संस्थाका नाममा भदौ ३ मा जाँचपासका लागि वनमा निवेदन दिएका थिए । त्यसको दुई दिन पछाडि डिभिजन वन कार्यालय सिमकोट हुम्लाका प्रमुख निमित्त डिभिजनल वन अधिकृत लोकजङ्ग शाहीले जाँचपास गराउनुभएको थियो । ‘सङ्कलन इजाजतबमोजिम शर्मथान राष्ट्रिय वनबाट सङ्कलन गरी नाम्खा गाउँपालिका–१, हुम्लामा घाटगद्दी गरिराखेको तपसिलबमोजिमको वनपैदावार नियमानुसार निकासीका लागि इजाजत मागका लागि भदौ ३ गते यस कार्यालयमा पेस भएको निवेदन अनुसार सम्बद्ध सरोकारवालको रोहबरमा वनपैदावार नापतौलका लागि सबडिभिजन वन कार्यालयका कर्मचारी खटाइ पठाएकोमा निजहरू घाटगद्दी स्थलमा गई सङ्कलन इजाजत अनुसारको वनपैदावार नापतौल गरी सङ्कलन लगतबमोजिम सबडिभिजन वन कार्यालय हुम्लाबाट वनपैदावार निकासीका लागि प्रतिवेदनसाथ आवश्यक कागजातसहितको फाइल पेस हुन आएकाले २१ दिनभित्र घाटगद्दी स्थानबाट सलीसल्ला, बाजुरा–कालीकोट–दैलेख–अछाम–कैलाली–बर्दिया–कोहलपुर हुँदै नेपालगन्जसम्म लैजानका लागि यो छुट पुर्जी दिइएको उल्लेख छ ।
नियन्त्रणमा लिइएको उक्त कन्टेनरलाई नेपालगन्ज लगेर राजस्व र भन्सारसहितको टोलीले खोलेर हेर्दा चीनबाट तस्करी गरी भित्रिएको ३९ हजार नौ सय थान भेप र दुई हजार ४०६ केजी सेतो चिनी फेला परेको छ । बरामद भेप करिब १० करोड मूल्य बराबरको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कन्टेनरमा पहिला ९२ बोरा सेतो चिनी मात्र रहेको वन कार्यालयले जनाएको छ ।
हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले हुम्लामा सङ्कलित जडीबुटी लोड भएको उल्लेख गरी पठाइएको कन्टेनरमा करिब ४० हजार थान विद्युतीय चुरोट भेप फेला परेको समाचार बाहिर आएलगत्तै प्रमुख जिल्ला अधिकारीले जिल्ला सुरक्षा समितिको बैठक आह्वान गरेको बताउनुभयो । उहाँले कहाँ कसरी, कसको मिलेमतोमा यो काम भएको त्यसको छानबिन गरी दोषीलाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाइने जनाउनुभयो ।