धनगढी समाचारदाता
धनगढी, भदौ ११ गते । सुदूरपश्चिम प्रदेश सरकारले जीवनाशक विषादी व्यवस्थापन ऐन ल्याउने तयारी गरेको छ ।
जीवनाशक विषादीको बिक्रीवितरण, भण्डारण र व्यावसायिक प्रयोगको नियमन गरी मानव तथा जीवजन्तुको स्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल प्रभाव नियन्त्रण गर्न आवश्यक व्यवस्था गर्ने उद्देश्यले सरकारले ऐन ल्याउन लागेको हो । यो ऐन बनाएर प्रदेशमा विषादी छर्कने व्यवसायीलाई इजाजत दिने, नवीकरण गर्ने जस्ता कार्यलाई व्यवस्थित बनाइने जनाइएको छ ।
जीवनाशक विषादी व्यवस्थापन ऐन बनाउन प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुदूरपश्चिम प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गरिसकेको छ ।
पछिल्लो समय रासायनिक मल र जीवनाशक विषादीको कृषिमा बढ्दो प्रयोगका कारण मानव स्वास्थ्यमा नकारात्मक असर परिरहेको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले बताउनुभयो । यसलाई निरुत्साहित गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
यो ऐन बनेमा कुनै पनि व्यक्ति, संस्था वा निकायले कुनै जीवनाशक विषादी तथा त्यस्तो विषादीको सक्रिय तत्वसमेतको उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण, बिक्रीवितरण, ओसारपसार, प्याकिङ गर्नुपूर्व पञ्जीकरण सङ्घीय ऐनबमोजिम गराउनुपर्ने छ । पञ्जीकरण वा पुनः पञ्जीकरण गरिएका जीवनाशक विषादीको बिक्रीवितरण, भण्डारण, व्यावसायिक प्रयोग तथा जीवनाशक विषादी छर्कने व्यवसाय गर्न चाहने व्यक्ति, संस्था वा निकायले समितिको निर्णयबमोजिम प्रयोगशालाबाट इजाजतपत्र लिनुपर्ने विधेयकमा उल्लेख छ । इजाजतपत्र प्रदान गर्दा तोकिएको सर्त उल्लङ्घन गरेमा समितिले त्यस्तो इजाजतपत्र जुनसुकै समयमा खारेज गर्न सक्ने जनाइएको छ । इजाजतपत्र दिने, नवीकरण गर्ने र सो कार्यको अनुगमन गर्ने, मन्त्रालयबाट तोकिएको मापदण्ड पालना गर्न लगाउनेलगायतका विषादीसम्बन्धी कार्य गर्न मन्त्रालयका सचिवको अध्यक्षतामा प्रदेश जीवनाशक विषादी व्यवस्थापन समिति रहने छ । समितिले जीवनाशक विषादीसम्बन्धी नीति तर्जुमा गरी प्रदेश सरकारसमक्ष पेस गर्ने, जैविक, वनस्पतिजन्य तथा सुरक्षित रासायनिक विषादी उद्योगमा लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नेलगायतका कार्य गर्ने जनाइएको छ ।
जीवनाशक विषादीको प्रयोग तथा व्यवस्थापन सङ्घीय ऐन अनुसार हुने जनाइएको छ । विषादी प्रयोग तथा व्यवस्थापनका लागि कृषि विज्ञानमा स्नातक वा सो सरहको निरीक्षक नियुक्त गर्ने विधेयकमा उल्लेख छ । जीवनाशक विषादीको गुणस्तर तथा अनुसन्धानात्मक परीक्षणलगायतका कार्य बाली संरक्षण प्रयोगशालाबाट गरिने जनाइएको छ । प्रयोगशालाले जीवनाशक विषादीको गुणस्तर परीक्षण गर्ने प्रयोजनका लागि नमुना सङ्कलन गर्ने छ । प्रदेशभित्र जीवनाशक विषादीको बिक्रीवितरण, भण्डारण, व्यावसायिक प्रयोगकर्ता र थोक तथा खुद्रा बिक्रेताले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी व्यवस्था तोकिएबमोजिम हुने विधेयकमा उल्लेख छ ।