• ११ भदौ २०८२, बुधबार

जङ्गली जनावरबाट बाली जोगाउनै सकस

blog

कमलामाई नगरपालिका–३, चपौलीमा किसानले बाँदर धपाउन बनाएको टौवा । तस्बिर : बाबुराम देवकोटा

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, भदौ ११ गते  । सिन्धुली जिल्लामा ग्रामीण क्षेत्रका किसानलाई जङ्गली जनावरबाट आफूले उत्पादन गरेको बाली जोगाउन सकस परेको छ । जङ्गलछेउमा रहेका आफ्नो खेतबारीमा उत्पादन गरेको सिजन अनुसारको बाली जङ्गली जनावरले आएर खाएर तथा उफ्रेर नष्ट गर्दै आएको किसानको गुनासो छ । सुनकोशी गाउँपालिका–७, नागिका किसान वीरबहादुर लामा त्यस क्षेत्रमा बाँदर, दुम्सी, बँदेललगायतका जङ्गली जनावरले किसानलाई धेरै दुःख दिँदै आएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “जङ्गली जनावरले बाली सखाप पार्न थालेपछि किसान आजित भएका छन् । आफ्नो बाली जोगाउन धेरै किसानको बास बिहानदेखि बेलुकासम्म खेतबारीमा नै हुने गरेको छ ।” घरनजिकै आएको बाँदर धपाउन जाँदा लडेर आफ्नो खुट्टा नै भाँचिएर घाइते भएको उहाँले अनुभव सुनाउनुभयो ।

महाभारत तथा गड्तीर क्षेत्र अन्तर्गतका कमलामाई नगरपालिका, सुनकोशी, गोलन्जोर, घ्याङलेख, फिक्कल गाउँपालिकालगायत ठाउँमा किसानले सिजन अनुसार उत्पादन गर्ने मकै, भटमास, आलु, अन्य तरकारी र फलफूल जङ्गली जनावरले सखाप पार्न थालेपछि किसान चिन्तित बनेका छन् । बाँदरलगायतका जङ्गली जनावरले खेतबारीको बालीनाली ठुलो क्षति र नोक्सान गरेपछि कमलामाई नगरपालिकाले वडा नं. ३ चपौलीका ३६ जना किसानलाई दुई वर्षअघि बाँदर धपाउने यन्त्र (बन्दुक) वितरण गरेको उक्त वडाका अध्यक्ष खड्गप्रसाद चौलागाईं बताउनुहुन्छ । 

बाँदरकै आतङ्कका कारण किसानको खेतबारी बाँझै बस्न थालेपछि किसानलाई बन्दुक वितरण गरेको र उक्त बन्दुकले बाँदर धपाउन ठुलो सहयोग पुगेको उहाँको भनाइ छ । बाँदरले घरमै आएर झुन्ड्याएर राखेको मकैसमेत लैजाने गरेको छ । त्यस क्षेत्रका खेतबारीमा दुम्सी र बँदेलका लागि स्थानीयले पासोसमेत बनाएर राखेका छन् । 

स्थानीयका अनुसार खेतबारीमा लगाएको बाली जङ्गली जनावरले खाएर र उफ्रेर नष्ट गर्नाले जमिन बाँझै बस्ने गरेको छ । बाँदर रात परेपछि बस्तीनजिकैको जङ्गलमा बास बस्ने र उज्यालो भएपछि हुलका हुल खेतबारीमा आएर बालीनाली नष्ट गर्ने गरेको छ । 

सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिल कोइरालाले बाँदर नियन्त्रणका लागि पालिकाले केही वर्षअघि किसानलाई प्लास्टिकको गोली भएको बन्दुक वितरण गरेको बताउनुभयो । धेरै जसो किसानको बिहान उठेदेखि बेलुका साँझसम्म नै खेतमा बास हुने गरेको र जङ्गलको छेउछाउको बस्तीका किसान बाँदरबाट धेरै पीडित बनेको उहाँको भनाइ छ । आफ्नो खेतबारीको बाली बाँदरबाट जोगाउन गाउँका सबै किसान पालो लगाई सामलखाजा घरबाट लगेर दिनभरि खेतमा बाँदर धपाउन बस्ने गरेको पाइन्छ ।

“दिनभर बाँदर धपाउदै बित्छ । राति दुम्सी र बँदेलले खान्छ, कसरी बाली जोगाउनु,” घ्याङ्लेख गाउँपालिका–२ का किसान राम दोर्जेले भन्नुभयो, “पढ्न विद्यालय जाने उमेरका बालबालिकासमेत खेतबारीमा बाँदर धपाएर बस्न बाध्य भएका छन् ।” वर्षभरि दुःख गरेको बालीनाली आँखैअगाडि बँदेलले तहसनहस पार्न थालेपछि परिवारको गर्जो टार्नसमेत समस्या हुने स्थानीयको भनाइ छ ।

विगत पाँच वर्षदेखि गाउँमा बँदेल आतङ्क बढ्न थालेको घ्याङलेख गाउँपालिकाका किसान बताउँछन् । घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलन पनि जङ्गली जनावर बाँदर र बँदेलबाट किसानलाई आफ्नो खेतबारीको बालीनाली जोगाउन निकै सास्ती भएको बताउनुहुन्छ । “यो पालिकामा बारीमा बाँदर धपाउन जाँदा लडेर एक जना किसानले ज्यान नै गुमाएको उदाहरण पनि छ,” उहाँले भन्नुभयो, “बाँदर र बँदेलले व्यापकै बालीनाली क्षति गरेको छ । रोकथाम नै गर्न नसक्ने अवस्था छ ।”