पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, भदौ ११ गते । स्थानीय समुदायको सक्रियतामा सुरु भएको पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२, मनरीस्थित थारू सांस्कृतिक पार्कले अहिले व्यापकता पाएको छ । स्थानीयको पहललाई गाउँपालिका र सङ्घीय सरकारले साथ दिएपछि पार्कले मूर्त रूप लिन थालेको हो ।
विशेषगरी थारू महिलाहरूले वृक्षारोपण गरी संरक्षण गरेको सार्वजनिक जग्गालाई अहिले थारू संस्कृति झल्किने एउटा आकर्षक गन्तव्यका रूपमा विकास गरिँदैछ । सुरुमा चरन क्षेत्र रहेको यस ठाउँलाई पार्कमा परिणत गर्न स्थानीयको निरन्तर प्रयासले सरकारी निकायहरूको ध्यान खिचेको हो ।
पार्कको विकासका लागि सङ्घीय सरकारको लगानीमा थारू एकेडेमीसहित दुईवटा भवनहरूको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कुल एक करोड १० लाख रुपियाँ (६५ लाख र ४५ लाख बराबरका दुईवटा संरचना) को लागतमा यी भवनहरू बनिरहेका छन् ।
गाउँपालिका अध्यक्ष सुखाडी चौधरीका अनुसार, सुरुमा गाउँपालिकाले १० लाख रुपियाँ लगानी गरी विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) समेत तयार पारेको थियो । यसै डीपिआर का आधारमा सङ्घीय सांसद ध्रुबबहादुर प्रधानको पहलमा सङ्घीय सरकारबाट बजेट विनियोजन भएको हो ।
पार्कसम्म पुग्नका लागि स्थानीय खोलामा पुल निर्माण भइसकेको छ भने पार्क वरपर तारजाली लगाउने काम पनि भइरहेको छ ।
करिब ८ बिघा क्षेत्रफलमा फैलिएको यो पार्कले थारू समुदायको जन्मदेखि मृत्युसम्मका संस्कार र संस्कृतिलाई प्रतिबिम्बित गर्नेछ । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी यस क्षेत्रको पर्यटन प्रवर्धनमा ठुलो सहयोग पुग्ने विश्वास लिइएको छ । “यो पार्कले थारू समुदायलाई मात्र नभएर सबै समुदायका मानिसलाई थारूबारे अध्ययन र अनुसन्धान गर्न सहज बनाउनेछ,’’ स्थानीय सञ्जय मौर्यले बताउनुभयो ।
पार्कको विकासले उत्साहित भएर स्थानीय नागेन्द्र चौधरीलेसहितको समूहले पार्क नजिकै आफ्नो १० कट्ठा जग्गामा थारू रिसोर्ट समेत सञ्चालनमा ल्याएका छन् । यसले पार्कको सम्भावित आर्थिक लाभलाई पनि देखाउँछ ।
विगतमा वृक्षारोपण गर्दै सार्वजनिक जग्गाको संरक्षण गर्ने अभियानमा लागेका महिलाहरूको निस्वार्थ प्रयासले अहिले भव्य आकार ग्रहण गर्न लागेको छ । यो परियोजनाले स्थानीय समुदाय, सरकारी निकाय र जनप्रतिनिधिको सहकार्यमा विकासका कार्य सम्भव छन् भन्ने उदाहरण प्रस्तुत गरेको छ ।