विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ ११ गते । भूमि समस्या समाधान आयोग सप्तरीले कामलाई द्रुत गतिमा अगाडि बढाएको छ । आयोगले जिल्लाका विभिन्न पालिकामा निस्सा वितरण र पुर्जा उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुर्याएको हो ।
सप्तकोशी नगरपालिका र रुपनी गाउँपालिकामा काम अन्तिम चरणमा पुगिसकेको र यसै महिना भित्र जग्गाधनी पुर्जा वितरण तयारी भइरहेको आयोगका अध्यक्ष अखिलेश कुमार झाले जानकारी दिनुभयो ।
जिल्लाका १८ पालिकामध्ये सप्तकोशी, खडक, राजविराज, कञ्चनरुप, बोदेबरसाईन, डाक्नेश्वरी, सुरुङ्गा, हनुमाननगर कंकालिनी नगरपालिका र अग्निसाईर कृष्णासवरन, रुपनी, राजगढ, तिरहुत गाउँपालिका गरी १३ वटा पालिकामा करिब ७० प्रतिशत काम सकिएको र निस्सा वितरणको अन्तिम तयारीमा पुगेको उहाँले बताउनुभयो ।
शम्भुनाथ नगरपालिका, तिलाठी कोइलाडी, छिन्नमस्ता, महदेवा र विष्णुपुर गाउँपालिका गरी बाँकी ५ पालिकामा भने काम सुरु गर्ने प्रक्रिया अगाडि बढाइरहेको अध्यक्ष झाको भनाइ छ । “पालिकाले समयमा सहयोग गरे दशैंसम्म कम्तिमा दुई हजार जनालाई पुर्जा वितरण गर्ने लक्ष्यसहित आयोग अगाडि बढिरहेको छ’’ झाले भन्नुभयो ।
यस्तै खडक, सप्तकोशी नगरपालिका र अग्निसाईर कृष्णासवरन गाउँपालिकामा नापी कार्य चलिरहेको र दशैंसम्म सकाएर निस्सा वितरण सुरु गर्ने तयारी भइरहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार सप्तरीमा अहिलेसम्म आर्थिक वर्ष २०८१/०८२ जेठ महिना भित्र भूमिहीन दलित पाँच हजार १७ जना, भूमिहीन सुकुम्वासी दुई हजार ६८९ जना गरी १२ हजार ९८८ जनाले आयोगमा आवेदन दिएका छन् । त्यस्तै अव्यवस्थित बसोबास (अधुरो÷अपुरो) का २४७ वटा आवेदन परेको छ ।