• ८ भदौ २०८२, आइतबार

राष्ट्रिय परिचयपत्र बनाउनै समस्या

blog

कालीकोट समाचारदाता

कालीकोट, भदौ ८ गते । दुर्गम जिल्लाका नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन सकस हुने गरेको छ । दुर्गमका स्थानीयले आफूलाई राष्ट्रिय परिचयपत्र बनाउन निकै कठिनाइ हुने गरेको बताएका छन् । 

सरकारले अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र लिनुपर्ने निर्णय गरेपछि भौगोलिक विकटता, सूचना प्रवाहको कमी, आवश्यक उपकरण तथा प्राविधिक जनशक्ति नपुग्दा ग्रामीण भेगका धेरै नागरिक अझै परिचयपत्र बनाउनबाट वञ्चित छन् । कालीकोटको पलाँता गाउँपालिका–२, राडुनेटाका गोरेबहादुर बमले राष्ट्रिय परिचयपत्र बनाउन आफू सदरमुकाम मान्म आए पनि इन्टरनेटले काम नगरेका कारण दुई दिन बस्नु परेको बताउनुभयो । उहाँले पहिला नागरिकता वितरणका लागि सरकारले गाउँमा टोली पठाए जस्तै राष्ट्रिय परिचयपत्र बनाउन पनि गाउँमा टोली खटाएमा नागरिकलाई सहज हुने जनाउनुभयो । उहाँले कर्मचारी चार जना गए भयो, एक पालिकामा चार दिन बस्ने गरेर गएको भए सयौँ नागरिकले दुःख पाउँदैनथे भन्दै टोली खटाएर परिचयपत्र बनाउन आग्रह गर्नुभयो । 

एक वर्षअगाडि राष्ट्रिय परिचयपत्र बनाउने टोली गाउँमा आएको थियो । उक्त समयमा घन्टौँ पैदल हिँडेर केन्द्रमा पुगे पनि लामो लाइनमा बस्नुपर्ने, कहिले उपकरण नचलेर फर्किनुपर्ने अवस्था थियो । 

पचालझरना गाउँपालिका–८ का कृपाराम सन्ज्यालले दुई दिन पैदल हिँडेर जिल्ला सदरमुकाम पुगेको तर मेसिन बिग्रिएपछि फर्किनु परेको बताउनुभयो । उहाँले सिस्टम ब्रिगिएपछि तीन दिन बसेर बल्लतल्ल बनाएर घर फर्कन लागेको जनाउनुभयो । उहाँले दुर्गम जिल्लाका बासिन्दालाई सुविधा दिने गरी घुम्ती टोलीमार्फत गाउँमै सेवा पु¥याउन सरकारसँग माग गर्नुभयो । प्राविधिक जनशक्ति र स्रोतको कमीका कारण तत्काल समाधान सम्भव नभएको सरकारी अधिकारीको भनाइ छ । जिल्ला प्रशासन कार्यालय कालीकोटका कम्प्युटर अपरेटर उज्ज्वलबहादुर शाहीले दुर्गम जिल्लामा बायोमेट्रिक विवरण सङ्कलन गर्न उपकरण बिग्रने, बिजुली तथा इन्टरनेटको सहज पहुँच नहुँदा प्रक्रिया अघि बढाउन समस्या हुने गरेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले चाहेर पनि हुँदैन, सिस्टमले काम नगरेका कारण वृद्धवृद्धाले निकै दुःख पाउने गरेका छन् ।”

विशेष गरी दैनिक ज्यालादारीमा निर्भर परिवार, महिला, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्ति परिचयपत्र बनाउन अझ बढी समस्यामा परेका छन् । राष्ट्रिय परिचयपत्रबिना नागरिकलाई सामाजिक सुरक्षा भत्ता, नागरिकता प्रमाणीकरण, बैङ्किङ कारोबार उपयोग गर्नसमेत कठिनाइ हुने गरेको छ । कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलनका लागि सबै स्थानीय तहबाट सेवा प्रवाहको तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “केही दिनअघि मन्त्रालयसँग विवरण दर्ता केन्द्रको माग गरेका छौँ, उताबाट निर्देशन आउनेबित्तिकै टोली बनाएर स्थानीय तहमा पठाउने तयारी भएको छ ।”